नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ कात्तिक ।
आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा न्युजिल्याण्डले पहिलो जित निकालेको छ । दुबईमा आइतबार भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्याण्डले पहिलो जित निकालेको हो ।
भारतले दिएको १ सय ११ रनको लक्ष्य न्युजिल्याण्डले १४ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । न्युजिल्याण्डको जितमा डार्य्ल मिचेलले ४९ रनको योगदान दिए । कप्तान केन विलियम्सनले अविजित ३३ रन बनाए ।
ओपनर मार्टिन गुप्टिल ३३ रनमा आउट भए । भारतका जस्प्रित बुम्राहले २ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय १० रन बनाएको थियो ।
भारतका लागि सातौं नम्बरमा ब्याटिङ गर्न आएका रविन्द्र जडेजाले सबिजित रहदै सर्वाधिक २६ रन बनाए । यस्तै हार्दिक पाड्याले २३ रन बनाउँदा केएल राहुलले १८ रन तथा रोहित शर्माले १४ रनको योगदान गरे ।
ऋषव पन्तले १२ रन जोड्दा कप्तान विराट कोहली ९ रनमा आउट भए । भारतलाई सस्तैमा समेट्न ट्रेन्ट बोल्टले ३ विकेट लिए । उनले ४ ओभर बलिङ गर्दै २० रन खर्चिए ।
यस्तै इस सोधीले २ तथा टिम साउथी र आदम मिल्नेले १र१ विकेट लिए । यस जितसँगै समूह २ को न्युजिल्याण्डले २ खेलमा २ अंक जोडेको छ । न्युजिल्याण्ड समूहको तेस्रो स्थानमा रहेको छ ।
पहिलो खेलमा न्युजिल्याण्ड पाकिस्तानसँग पराजित भएको थियो । भारतको यो लगातार दोस्रो हार हो । अंक विहीन रहदै भारत समूहको पाँचौं स्थानमा रहेको छ । पहिलो खेलमा भारत पनि पाकिस्तानसँग पराजित भएको थियो ।