नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ कात्तिक ।

जी–२० राष्ट्रका नेताहरू विश्व तापमानलाई पूर्व–औद्योगिक स्तरभन्दा कम १.५ डिग्रीमा सीमित गर्न सहमत भएका छन्। जी २०मा सहभागी नेताहरुबीच उक्त सहमति भएको स्रोतलाई उद्धृत गर्दै एएफपीले जनाएको छ। सम्मेलनमा सहभागी नेताहरूबीच २०१५ को पेरिस सम्झौताभन्दा बाहिर जाने विषय अनुमोदन गरेका छन्।
नेताहरुबीच ग्लोबल वार्मिङलाई २ डिग्रीभन्दा कम १.५ डिग्रीको नजिकमा राख्ने विषयमा छलफल भएको थियो। सम्मेलनमा विशेषगरी जलवायु परिवर्तन, कोरोनाभाइरसको महामारी, पुरानै अवस्थामा फर्किने प्रयासलगायतका विषयमा छलफल भएको जनाइएको छ। सम्मेलनको नेतृत्व सम्मेलन आयोजक मुलुक इटलीका राष्ट्रपति मारियो ड्राघीले गरेका छन्।
जी २० अन्तर्गत अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, जर्मनी, फ्रान्स, भारत, इन्डोनेसिया, इटली, जापान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत, अमेरिका र युरोपेली संघ पर्दछन्। अन्तर्राष्ट्रियस्तरमा आर्थिक सहकार्य र सहयोगका लागि भन्दै सन् १९९९ देखि जी २० शिखर सम्मेलनको सुरुवात भएको हो।

