नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ कात्तिक ।

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राखेको विश्वासको मतको प्रस्तावमाथि आज मतविभाजन हुने भएको छ । मध्यान्ह साढे १२ बजे बस्ने प्रदेश सभा बैठकमा आचार्यले राखेको विश्वासको मतको प्रस्तावमाथि मतविभाजन हुने छ ।
मुख्यमन्त्री आचार्यले कात्तिक ७ गते विश्वास लिने प्रस्ताव सदनमा पेस गरेका थिए । तर, मतदान नभई बैठक कात्तिक १५ गतेका लागि सारिएको थियो । त्यतिबेला कांग्रेस र एमालेले बैठक सार्न लिखित निवेदन दिएका थिए ।
प्रदेश १ को विपक्षी गठबन्धले मुख्यमन्त्री आचार्यको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । आज बस्ने प्रदेश सभा बैठकको पूर्वसन्ध्यामा विराटनगरमा बसेको विपक्षी गठबन्धनको बैठकले नेकपा ९एकीकृत समाजवादी०का नेता राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्ने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले जानकारी दिएका छन् ।
प्रदेश १ मा ९२ जना सांसद छन् । बहुमतका लागि ४७ मत चाहिन्छ । एमालेका ४१ सांसद छन् । विपक्षी गठनबन्धनमा ५० सांसद छन् । यससँगै प्रदेश सरकार पनि एमाले विहीन हुने निश्चित छ ।

