नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ कार्तिक ।

न्यायाधीशहरूको अघोषित इजलास बहिष्कार र न्यायाधीश नहकुल सुवेदी बिदामा रहेकाले माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्धामा पेशी चढेको छैन ।
सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको मुद्धाको फैसला १५ कात्तिकमा सुनाउने निर्णय गरेको थियो । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा बाबुराम भट्टराईलाई पनि भ्रष्टाचार मुद्दा लगाउनु पर्ने भन्दै अख्तियारविरुद्ध बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए ।
यसअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले कात्तिक १५ गतेको लागि निर्णय सुनाउने तोकेको थियो । उक्त रिटमाथि आज (सोमबार)प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले फैसला सुनाउने निर्णय गरेको थियो ।
त्यस्तै सर्वोच्चले कात्तिक १० गते सम्म दुवै पक्षका कानून व्यवसायीहरूले आफ्नो बहस नोट पेस गर्न समेत आदेश दिएको थियो । यसअघि पनि सुनुवाइका लागि पेशीचढेपनि पटक–पटक स्थगित हुँदै आएको थियो । आज बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र पेशीमा चढेका छन् ।

