नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ कार्तिक ।

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा दिएका छन् । आज (सोमबार) प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पदबाट राजीनामा दिएका हुन् ।
उनले राजीनामा दिएर आफूले ‘मार्ग प्रशस्त’ गरेको जानकारी दिए । आचार्यले विश्वासको मतका लागि गत २४ असोजमा प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेका थिए । मुख्यमन्त्री आचार्यले कात्तिक ७ गते विश्वास लिने प्रस्ताव सदनमा पेस गरेका थिए । तर, मतदान नभई बैठक कात्तिक १५ गतेका लागि सारिएको थियो । त्यतिबेला कांग्रेस र एमालेले बैठक सार्न लिखित निवेदन दिएका थिए ।
तत्कालीन मुख्यमन्त्री शेरधन राईले भदौ १० मा राजीनामा दिएपछि आचार्य प्रदेश १ को दोश्रो मुख्यमन्त्री बनेका थिए । एमाले विभाजन भएपछि आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो । प्रदेश १ मा ९२ जना सांसद छन् । बहुमतका लागि ४७ मत चाहिन्छ । एमालेका ४१ सांसद छन् । विपक्षी गठनबन्धनमा ५० सांसद छन् । यससँगै प्रदेश सरकार पनि एमाले विहीन भएको छ ।
त्यस्तै आइतबार बसेको विपक्षी गठबन्धनको बैठकले नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्ने निर्णय गरेको छ ।

