नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ कार्तिक ।

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा दिएसँगै प्रदेश प्रमुख नयाँ सरकार गठनको दावी पेश गर्न दलहरुलाई आह्वान गरेका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मंगलबार १ बजेभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।
त्यस्तै प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा प्रदेश प्रमुख अधिकारीले स्वीकृत गरेका छन् । तत्कालीन मुख्यमन्त्री शेरधन राईले भदौ १० मा राजीनामा दिएपछि आचार्य प्रदेश १ को दोश्रो मुख्यमन्त्री बनेका थिए । एमाले विभाजन भएपछि आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको थियो । प्रदेश १ मा ९२ जना सांसद छन् । बहुमतका लागि ४७ मत चाहिन्छ । एमालेका ४१ सांसद छन् । विपक्षी गठनबन्धनमा ५० सांसद छन् ।
यस्तै आइतबार बसेको विपक्षी गठबन्धनको बैठकले नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्ने निर्णय गरेको छ ।

