नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ कार्तिक ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ४४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ७ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ९१३ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ६ हजार ५७७ पीसीआर परीक्षणमा ३९५ जना र तीन हजार ३३६ एन्टिजेन परीक्षणमा ५२ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, चौबीस घण्टामा ७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ४३४ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ४३९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ७ लाख ९३ हजार २७१ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ९ हजार १२३ रहेको छ । जसमा ८ हजार ४३६ जना होम आइसोलेसनमा छन् भने ६८७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २२३ संक्रमित आईसीयूमा र ५९ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख १३ हजार ८२८ र एन्टिजेन विधिबाट ९४ हजार ७२६ जना पुगेको छ ।