अष्ट्रेलिया र श्रीलंका विजयी

युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलिया र श्रीलंका विजयी भएका छन् । बिहीबार भएको पहिलो खेलमा बंगलादेश अष्ट्रेलियसँग ८ विकेटले पराजित भयो भने वेस्ट इन्डिज श्रीलंकासँग २० रनले पराजित हुन पुग्यो ।

दुबईमा टस हारेर पहिले ब्याटिङ्ग गरेको बंगलादेशले १५ ओभरमा अलआउट हुँदै ७३ रनमा समेटियो । बंगलादेशका लागि मोहमद नइमले १७, समिम हुसेनले १९, महमुदुल्लाहले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।अष्ट्रेलियाका लागि एडम जाम्पाले ५ विकेट लिए भने मिचेल स्टार्क र जेस हेजलवुडले समान २–२ विकेट लिँदा ग्लेन म्याक्सवेलको भागमा १ विकेट रह्यो ।



अष्ट्रेलिया

७४ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको अष्ट्रेलियाले ६ ओभर २ बलमा २ विकेट गुमाउदै पूरा गर्यो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ४० रन बनाए भने डेभिड वार्नरले १८ रन जोड्दा मिचेल मार्स १६ रनमा अविजित रहे । बंगलादेशका लागि तास्किन अहमेद र सोरफुल इस्लामले समान १–१ विकेट लिए ।

जितसँगै समूह १ मा रहेको अष्ट्रेलिया ४ अंक जोड्दै सेमिफाइनल पुग्ने सम्भावना बलियो बनएको छ भने हारसँगै बंगलादेश सुपर १२ मा जित विहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।

बंगलादेश

त्यसैगरी बिहीबार भएको दोस्रो खेलमा श्रीलंकाले वेस्ट इन्डिजलाई २० रनले पराजित गरेको छ । अबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १८९ रन बनाएको थियो । श्रीलंकाका लागि चरिथ असालांकाले ६८ रनको अर्धशताकीय पारी खेले भने पाथुम निसांकाले ५१ रन बनाए । त्यस्तै कुशल पेरेराले २९ रन जोडे । वेस्ट इन्डिजका लागि आन्द्रे रसेलले २ विकेट लिए भने ड्वायन ब्राभोको भागमा १ विकेट रह्यो ।

श्रीलंका

१९० रनको लक्ष्य लिएर मैदान उत्रेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १६९ रन मात्र जोड्न सक्यो । वेस्ट इन्डिजका लागि सिमरोन हिटम्यानले ८१ रन बनाए भने निकोलस पुरनले ४६ रन जोडे । श्रीलंकाका लागि वानिन्दु सिल्भा, विनुरा फर्नान्डो र चमिका करुणारत्नेले समान २–२ विकेट लिए भने दुसमन्था चमिरा र दासुन सनकाको भागमा समान १-१ विकेट रह्यो । दुबै टोली प्रतियोगिताबाट बाहिरिएका छन् ।

वेस्ट इन्डिज

प्रतियोगिता अन्तर्गत आज दुई खेल हुने छन् । पहिलो खेलमा नामिबिया र न्युजिल्यान्ड भिड्दै छन् भने दोस्रो खेलमा भारत र स्कटल्यान्ड आमने सामने हुने छन् ।

 

 

 

सम्बन्धित समाचार