नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ कार्तिक ।
युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलिया र दक्षिण अफ्रिका विजयी भएका छन् । शनिबार भएको पहिलो खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्यो भने इंग्ल्यान्ड दक्षिण अफ्रिकासँग १० रनले पराजित हुन पुग्यो ।
हिजो भएको खेलसँगै सुपर १२ को समूह १ बाट सेमिफाइनल पुग्ने टोलीको छिनोफानो लागेको छ । इंग्ल्यान्ड, अष्ट्रेलिया र दक्षिण अफ्रिकाको समान ८-८ अंक भएपनि इंग्ल्यान्ड रनरेटमा अगाडी रहँदै पहिलो स्थानमा रहँदा अष्ट्रेलिया दोस्रो स्थानमा र दक्षिण अफ्रिका रनरेटमा अष्ट्रेलिया भन्दा पछि रहेपछि तेस्रो स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
अबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १५७ रन बनायो । वेस्ट इन्डिजका लागि कप्तान काइरोन पोलार्डले ४४ रन बनाए भने इभिन लेविसले २९ तथा सिमरोन हिटमेयरले २७ रन जोडे । अष्ट्रेलियाका लागि जेश ह्याजलउडले चार विकेट लिए भने मिचेल स्टार्क, प्याट कमिङस तथा एडम जाम्पाको भागमा समान १-१ विकेट रह्यो ।
१५८ रनको लक्ष्य लिएर मैदान उत्रेको अष्ट्रेलियाले १६ ओभर २ बलमा २ विकेट गुमाउदै पूरा गर्यो । उसका लागि डेभिड वार्नर र मिचेल मार्सले अर्धशतकीय पारी खेल्दै क्रमश: ८९ र ५३ रन बनाए । वेस्ट इन्डिजका लागि अकिल होसेन र क्रिस गेलले समान १-१ विकेट लिए । जितसँगै अष्ट्रेलिया अन्तिम चारमा प्रवेश गरेको छ ।
त्यस्तै शनिबारनै भएको अर्को खेलमा दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई १० रनले पराजित गरेको छ । जितका बाबजुद दक्षिण अफ्रिका रनरेटमा अष्ट्रेलिया भन्दा पछि रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । अष्ट्रेलियाको १.२१६ रनरेट छ भने दक्षिण अफ्रिकाको रन रेट ०.७३९ रहेको छ ।
सारजाहमा टस हारेर पहिले ब्याटिङ्ग गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै १ ८९ रन बनायो । दक्षिण अफ्रिकाको लागि रस्सी भान डेर डुसन ९४ र एडेन मार्कम्यान ५२ रनमा अविजित रहे जोडे । त्यस्तै क्विनटन डी ककले ३४ रन बनाए । इंग्ल्यान्डका लागि आदील रासिद र मोइन अलीले समान १-१ विकेट लिए ।
१९० रनको लक्ष्य लिएर मैदान उत्रेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १७९ रन मात्र बनाउन सक्यो ।इंग्ल्यान्डका लागि मोइन अलीले ३७ रन बनाए भने डेविड मलानाले ३३ रन जोडे । त्यस्तै लियाम लिभिङ स्टोन २८ रन बनाई आउट भए भने जोस बटलरले २६ र जेसन रोयले २० रन जोडे ।
दक्षिण अफ्रिकाका लागि कागिसो राबडाले ह्याट्रिक सहित ३ विकेट लिए भने तबरेज शम्सी र ड्वेन प्रिटोरियसको भागमा समान २-२ विकेट रह्यो । पराजयका बाबजुद इङ्ल्याण्ड समूह विजेता बन्दै सेमि फाइनलमा प्रवेश गरेको छ । दक्षिण अफ्रिकाको पनि समान ८ अंक भएपनि इङ्ल्याण्ड र अष्ट्रेलियासँग पछि पर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतियोगिता अन्तर्गत आज दुई खेल हुने छन् । पहिलो खेलमा अफगानिस्तान र न्युजिल्यान्ड भिड्दै छन् भने दोस्रो खेलमा पाकिस्तान र स्कटल्यान्ड आमने सामने हुने छन् ।