पाकिस्तान समूह विजेता बन्दै सेमिफाइनलमा

युएई र ओमानमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा पाकिस्तानविजयी भएको छ । आइतबार भएको खेलमा स्कटल्यान्ड पाकिस्तानसँग ७२ रनले पराजित हुन पुग्यो ।

जितसँगै पाकिस्तान सुपर १२ को समूह २ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्यस्तै, न्यूजिल्यान्ड उपविजेता टोलीको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । सारजाहमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १८९ रन बनाएको थियो । उसका लागि कप्तान बाबर आजमले ६६ र शोएब मलिकले ५४ रनको अर्धशतकीय पारी खेले । स्कटल्यान्डका लागि क्रिस ग्रेभ्सले २ विकेट लिए भने हम्जा ताहिर र सफ्यान सरिफको भागमा समान १-१ विकेट रह्यो ।



पाकिस्तान

१९० रनको लक्ष्य लिएर मैदान उत्रेको स्कटल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै ११७ रनमात्र बनायो । स्कटल्यान्डका लागि रिची वेरिङटनले ५४ रन बनाए भने जर्ज मुन्सीले १७ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन । पाकिस्तानका लागि शदाव खानले दुई विकेट लिए भने शाहिन शाह अफ्रिदी, हरिस राउफ तथा हसन अलीको भागमा समान १-१ विकेट रह्यो ।

आइतबारको खेलसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । समूह २ को विजेता बन्दै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ भने न्यूजिल्यान्ड उपविजेता टोलीको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । पाकिस्तानले आफूले खेलेको पाँचवटै खेलमा जित हात पार्दै सेमिफाइनलमा प्रवेश गरेको हो । समूह १ को विजेताको रुपमा इंग्ल्यान्ड र उपविजेताको रुपमा अष्ट्रेलिया अन्तिम चारमा प्रवेश गरिसकेको छ । सेमिफाइनलमा पाकिस्तानले अष्ट्रेलिया तथा न्यूजिल्यान्डले इंग्ल्यान्डको सामना गर्नेछ ।

स्कटल्यान्ड

त्यसैगरी आइतबार आबुधावीमा भएको खेलमा अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्ड पनि अन्तिम चारमा पुगेको हो । न्युजिल्यान्डको जितसँगै भारत समूह चरणबाटै बाहिरिएको छ । प्रतियोगिता अन्तर्गत आज भारत र नामिबिया भिड्दै छन् ।

 

सम्बन्धित समाचार