नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ कार्तिक ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मुद्दाको सुनुवाइका लागि आज ६ वटा इजलासमा पेसी तोकेका छन् । सबै मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेका छन् ।
६ वटा इजलासमा बन्दीप्रत्यक्षीकरणका सातवटा मुद्दा सुनुवाइका लागि पेसी चढाइएको छ । उनले न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ, नहकुल सुवेदी, वमकुमार श्रेष्ठ, तेजवहादुर केसी, कुमार चुँडाल, मनोज शर्मा लगायतलाई मात्रै इजलास तोकेका छन् । जबराको राजीनामा माग्दै आन्दोलनरत सर्वोच्च अदालतका १९ जना न्यायाधीशले मुद्दा सुनुवाइमा सहभागी नहुने बताए पनि जबराले इजलास तोक्दै आएका छन् ।
प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायलयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै अन्य न्यायाधीशले सुनुवाइ गर्न इन्कार गर्दै आएकाले मुद्दाको सुनुवाइ हुन सकेको छैन ।यसअघि सर्वोच्च अदालतको पूर्ण बैठक बसेर समस्या समाधान गर्ने भनिए पनि उक्त बैठक बस्न सकेको थिएन ।
प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रुपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै अन्य न्यायाधीशलाई संविधान र कानूनबमोजिम आ-आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गरेका थिए । न्यायाधीशका इन्कारीका कारण मुद्दाको सुनुवाइ हुन नसक्दा टाढाटाढाबाट आएका पालोमा परेका सेवाग्राही मर्कामा परेका छन् । सर्वोच्च अदालतका १९ जना न्यायाधीश र नेपाल बार एसोसिएसनले आन्दोलन गरिरहेका छन् ।

