नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ कात्तिक ।
अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्। सोमबार सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि गरिएको कार्यक्रममा यस्तो बताएका हुन्।
मन्त्री शर्माले विभिन्न चुनौतीबीच राजस्व संकलन दोब्बर बनाउने लक्ष्य रहेको बताए। ‘तोकिएको लक्ष्यभन्दा २०० गुणा बढी राजस्व उठाउने लक्ष्य लिएको छु,’ उनले भने, ‘बाहिर तोकिएकाले मात्र पुग्दैन। राजस्व बढाउनका लागि कडाइसमेत गरिएको छ।’
यद्यपि, पछिल्लो समय बेमौसमी वर्षाका कारण अर्बौं रुपैयाँको क्षति भएकाले राजस्व संकलन तथा आर्थिक वृद्धिमा चुनौती थपिए पनि राजस्व संकलन लक्ष्यअनुरूप हुने मन्त्री शर्माले विश्वास व्यक्त गरे। उनले राजस्व वृद्धिका लागि लगानी बढाउनुपर्ने भन्दै तातोपानी नाकाको सडक स्तरोन्नतिका लागि चीनसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताए।
मन्त्री शर्माले तातोपानी नाकाको पूर्वाधार विकासका लागि अर्थ सचिव र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवबीच छलफल गरी लगानीका लागि ठोस योजना बनाउन समेत निर्देशन दिए। उनले चीन सरकारले ठोस रूपमा गर्ने सहयोग र नेपालले गर्न सक्ने लगानीको योजना बनाएर नाकाको पूर्वाधार विकास सहकार्यमा गर्नुपर्ने जोड दिए।
तातोपानी नाका अन्तर्राष्ट्रिय नाका भएकाले सरकारले महत्वसाथ हेरेको र द्विपक्षीय समन्वयका आधारमा यसको विकास गर्नुपर्ने मन्त्री शर्माले बताए। नाका तथा भन्सार कार्यालयको निरीक्षणमा पुगेका मन्त्री शर्माले चीन सरकारको सहयोगमा निर्मित सुक्खा बन्दरगाहको समेत निरीक्षण गरेका थिए। कोरोना महामारीका कारण हाल तातोपानी नाका प्रायः बन्द रहेको छ।