नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ कार्तिक ।
आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारत विजयी भएको छ । सोमबार राति भएको खेलमा नामिबियालाई ९ विकेटले पराजित गर्दै भारतले प्रतियोगितामा सुखद अन्त्य गरेको हो ।
दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १३२ रन बनाएको थियो । नामिबियाका लागि डेभिड वाइजीले २६ रन बनाए भने स्टेफन बार्डले २१ रन जोडे । भारतका लागि रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले समान ३-३ विकेट लिए भने जसप्रित बुमराहको भागमा २ विकेट रह्यो ।
१३३ रनको लक्ष्य लिएर मैदान उत्रेको भारतले १५ दशमलब २ ओभरमा १ विकेट गुमाउदै पूरा गर्यो । भारतको लागि रोहित शर्माले ५६ रनको अर्धशतकीय पारी खेले भने केएल राहूल ५४ र सूर्यकुमार यादव २५ रनमा अविजित रहे । नामिबियाका लागि जान फ्रालिङचेले एक विकेट लिए । प्रतियोगिताबाट बाहिरिसकेका भारत र नामिबियाको खेल प्रतिष्ठाको लडाई मात्र थियो ।
प्रतियोगिता अन्तर्गत सुपर १२ मा भारतको यो तेस्रो जित हो । पहिलो खेलमा पाकिस्तानसँग १० विकेटले पराजित भएको भारत दोस्रो खेलमा न्युजिल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा अफगानिस्तानलाई ६६ रनले पराजित गरेको भारतले चौथों खेलमा स्कटल्यान्डलाई ८ विकेटले पराजित गरेको थियो ।
यस समूहबाट पाकिस्तान समूह विजेता र न्युजिल्यान्ड उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेका छन् ।