एमालेका नेता-कार्यकर्तालाई समाजवादीमा प्रवेश गराउन माधव नेपाल डडेलधुरा जाँदै

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का डडेलधुरा अध्यक्षसहित ठूलो संख्यामा नेता कार्यकर्ताले एमाले परित्याग गरेर नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने भएका छन्। एमाले डडेलधुराका अध्यक्ष डा तारा जोशीको नेतृत्वमा एमालेको ठूलो समूह समाजवादीमा प्रवेश गर्ने भएको छ।

एमालेको बहुमत संख्याको जिल्ला कमिटी नै समाजवादीमा प्रवेश गर्न लागेको छ। ठूलो संख्यामा एमाले परित्याग गरेर एकीकृत समाजवादीमा प्रवेश गर्ने भएपछि अध्यक्ष माधवकुमार नेपाल बुधबार डडेलधुरा जाँदै छन्।



समाजवादीमा प्रवेश गर्न लागेका एमाले अध्यक्ष जोशीले बुधबार मध्याह्न १२ बजे पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष नेपाल डडेलधुरा आउन लागेको जानकारी दिए। एकीकृत समाजवादीका सुदूरपश्चिम सहइन्चार्जसमेत रहेका संस्कृति पर्यटन तथा नागरिक उड्‍डयनमन्त्री प्रेम आलेसमेत पार्टी अध्यक्षसँगै डडेलधुरा जाँदै छन्। हेलिकप्टरको सम्पूर्ण व्यवस्थापन पर्यटनमन्त्रीले नै मिलाएको एक नेताले जानकारी दिए।

अध्यक्ष जोशीले एमालेलाई एकताबद्ध बनाएर अघि बढाउनका लागि प्रयास गरेको भए पनि एमालेमा बस्नै नसक्ने वातावरण सिर्जना गरिएको जानकारी दिए। एकीकृत समाजवादीमा नै प्रवेश गर्न लागेका अर्का एक नेताका अनुसार ५१ सदस्यीय साविकको नेकपा (एमाले)को जिल्ला कमिटीमध्ये ४० जना एकीकृत समाजवादीमा प्रवेश गर्न लागेका छन्। जोशी डडेलधुरामा लामो समय एमालेको नेतृत्व गरिसकेका लोकप्रिय नेता हुन्। उनले एमालेको ठूलो हिस्सा समाजवादीमा लग्दै छन्।

डडेलधुराकै अर्का एक नेताले नेपालको समूहमा रहेका नेता कार्यकर्तालाई पार्टीमा बस्नै नदिने वातावरण सिर्जना गरिएको बताए। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लासमेत रहेको डडेलधुराका एमाले अध्यक्ष जोशी २०७४ सालको प्रदेश सभा सदस्य पदमा थोरै मतले नेपाली कांग्रेसका कर्ण मल्लसँग पराजित भएका थिए।

ठूलो संख्यामा जिल्ला कमिटीकै नेता कार्यकर्ताले एमाले परित्याग गरेर एकीकृत समाजवादी रोज्ने निर्णयमा पुगेपछि यसले डडेलधुरामा एमालेलाई ठूलो धक्का लाग्ने देखिएको छ।

सम्बन्धित समाचार