नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ कार्तिक ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन् । आज (बुधबार) गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बिहान शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले पूर्वराजा ज्ञानेन्द्रलाई शासन गर्ने भए चुनाव लडेर आउन चुनौती दिएका हुन् ।
त्यस्तै देउवाले ज्ञानेन्द्रलाई गणतान्त्रिक शासन व्यवस्था विरुद्ध नलाग्न पनि आग्रह गरेका छन् । देउवाले भने ‘शासन गर्ने भए चुनाव लडेर आउनुस्, प्रजातन्त्रमा त्यो सुविधा छ, शासन व्यवस्था विरुद्ध नलाग्नुस् ।’ यस्तै देउवाले आफूले पूर्व राजा ज्ञानेन्द्रलाई प्रजातन्त्रबाहेक सबै कुरा सुम्पिन तयार छु भन्दा ज्ञानेन्द्रले आफूलाई जेल हालेको स्मरण गर्दै गणतन्त्रको माहोल त्यसबेला देखि नै सुरु भएको बताए ।
पूर्वराजा ज्ञानेन्द्र शाहले दशैंको शुभकामना सन्देशमा प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र नेपालमा सान्दर्भिक नहुने बताएका थिए । प्रधानमन्त्री देउवाले प्रजातन्त्रमा सबैभन्दा ठूलो शक्ति भनेकै जनता भएको स्मरण गराए । प्रधानमन्त्री देउवाले भने, ‘गणतन्त्र राजा ज्ञानेन्द्रले नै ल्याएको हो, हामीले ल्याएकै होइन, मैले सरकार सबै चढाउँछु, प्रजातन्त्रविरुद्ध जान सक्दिन सरकार भने तर मलाई जेलमा थुनियो । ‘

