महाधिवेशनको कार्यतालिकाको विषयमा यसो भने सिटौलाले

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औं महाधिवेशन समयमै गर्नुपर्ने र अहिलेको कार्यतालिका एक दिन पनि परिवर्तन गर्न ठाउँ नरहेको बताएका छन् । आज (बुधबार) कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०७ औँ जन्मजयन्तीका अवसरमा शान्ति बाटिकामा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले महाधिवेशनलाई सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

उनले पार्टीलाई सम्पूर्ण रुपमा एकताबद्ध बनाएर देशप्रति समर्पित भएर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई सफलता मिलोस् भनि कामना समेत गरे । कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री सिटौलाले प्रतिगमनविरुद्धको आन्दोलनमा तत्कालीन अवस्थामा प्राध्यापकलगायत नागरिक समाजले खेलेको भूमिकाको उच्च प्रशंसा गरे । त्यस्तै उनले अझै पनि राजनीतिक क्षेत्रमा गर्नुपर्ने धेरै काम बाँकी रहेको उल्लेख गर्दै राजनीतिक व्यवस्थाको स्थायित्वका लागि सबैको खबरदारीको आवश्यकता औल्याए ।



नेता सिटौलाले भने, ‘२७ गतेबाट बाँकी रहेका वडा अधिवेशनहरू सम्पन्न गरेर मंसिरको २७ गते पार्टीको केन्द्रित पदाधिकारी हामीले निर्वाचित गर्नुछ । अत्यन्तै छोटो कार्यतालिका छ । अत्यन्तै साँघुरो कार्यतालिका छ । तर एकदिन पनि यो कार्यतालिका परिवर्तन हुन सक्दैन । यसलाई हामीले सफल बनाउनुछ, सबैले मिलेर ।’ अन्तमा उनले महाधिवेशनमा प्रतिस्पर्धा गर्ने साथीहरुलाई सफलताको शुभकामना समेत दिए ।

 

 

 

सम्बन्धित समाचार