नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ कात्तिक ।

पूर्वमन्त्री एवम् नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले अमेरिकालाई एमसीसी परियोजना फिर्ता लैजान आग्रह गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै गौतमले सम्झौताले नेपालका छिमेकी मुलुकहरूसँग सम्बन्ध बिग्रने पो हो कि भन्ने शंका व्यक्त भइरहेको बताएका छन् ।
‘यो सम्झौताले नेपालका छिमेकी मुलुकहरूसँग सम्बन्ध बिग्रने पो हो कि भन्ने शंका व्यक्त भइरहेको देखिन्छ,’ गौतमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘सम्झौता कार्यान्वयनबाट नेपालको स्वतन्त्रता र सार्वभौमिकतामा आँच पुग्ने शंका गर्न थालिएको छ । उपरोक्त अवस्थालाई मध्यनजर गर्दै अहिले आएको एमसीसी परियोजनाले नेपालको हित भन्दा पनि जनमतको विभाजनका कारण गम्भीर अहित हुने अवस्था सृजना हुने देखिएको छ ।’
अहिलेको सरकार र संसद दुवैले एमसीसी अनुमोदन गर्न नसक्ने पनि गौतमको भनाइ छ । ‘यो अवस्थालाई मध्यनजर गर्दै एकपक्षीयरूपमा भए पनि मित्र राष्ट्र संयुक्त राज्य अमेरिकी सरकारलाई एमसीसी परियोजना फिर्ता लगेर नेपालको हित प्रवर्द्धन गर्न विनम्र अनुरोध गर्दछु,’ उनको आग्रह छ ।

