सबै जिल्लाका कांग्रेस क्रियाशील सदस्यको सूची सार्वजनिक

नेपाली कांग्रेसले सबै जिल्लाका क्रियाशील सदस्यको टुंगो लगाएको छ। रौतहटको क्रियाशील सदस्यको सूची प्रकाशित गरेसँगै कांग्रेसका ७७ वटै जिल्लाका क्रयाशील सदस्यको टुंगो लागेको हो। अन्य जिल्लाको क्रियाशील सदस्यहरुको नामावली प्रकाशित हुँदा रौतहट र रसुवाको सूची सार्वजनिक हुन सकेको थिएन। चार दिन अगाडि मात्रै रसुवाका क्रियाशील सदस्यको नामावली सार्वजनिक गरिएको थियो।

क्रियाशील सदस्यताको नामावली प्रकाशित हुनेमा रौतहट सबैभन्दा पछिल्लो जिल्ला बनेको छ। क्रियाशील सदस्यताको विवादले रौतहटका जिल्ला नेता कार्यकर्ता केन्द्रीय कार्यालयमा धर्नामा बसिरहेका छन्। बुधबार नामावली प्रकाशित भएपनि धर्नामा बसेकाहरुले आफ्नो विरोध जारी राखेका छन्। क्रियाशील सदस्यताको नामावलीमा रौतहटमा विवाद छ।



क्रियाशील सदस्यता टुंगो नलागेकै कारण निर्वाचन समितिले रसुवा र रौतहटको अधिवेशनको कार्यतालिका सार्वजनिक गर्न सकेको थिएन। ती दुई जिल्लाको वडा तहको अधिवेशन कात्तिक २७ मा हुने निर्वाचन समितिले जनाएको छ।

सिन्धुपाल्चोकमा बाँकी रहेका वडासहित डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सामा कात्तिक २७ मा वडा अधिवेशन गरिने भनेर निर्वाचन समितिले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ।

सम्बन्धित समाचार