नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ कात्तिक ।

नेकपा (माओवादी केन्द्र) का नेता रामचन्द्र झा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्ने भएका छन्। समाजवादीका प्रवास इन्चार्ज श्रीप्रसाद साहले नेता झा माओवादी छाडेर आफूहरूसँगै आउन लागेको पुष्टि गरेका छन्।
उता झाले पनि समाजवादीलाई आफ्नै पार्टी भएको बताए। उनले माधव नेपालसँग तीन दशकसम्म एउटै पार्टीमा काम गरेको बताउँदै अब एकीकृत समाजवादीमा सक्रिय हुने उल्लेख गरे। झा तत्कालीन अवस्थामा एमालेमा रहँदा पनि माधव नेपालनिकट नै मानिन्थे। तर उनी एमाले छाडेर माओवादीमा गएका थिए।
त्यसपछि उनी माओवादीमा लामो समय बसेनन्। माओवादी छाडेर डा बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी बनाएपछि उनी पनि त्यतै लागे। तर डा भट्टराईले आफ्नो पार्टीको अस्तित्व सक्दै उपेन्द्र यादवसँग एकता गरेर जनता समाजवादी पार्टी बनाएपछि भने झा माओवादीमै आएका थिए।

