काँग्रेसमा बदलियो समीकरण, देउवा र पौडेलबीच गोप्य सहमतिको चर्चाले दोस्रो तहका नेताहरू अन्यौलमा

राष्ट्रपतिको लोभमा सभापतिमा देउवालाई सघाउँदै पौडेल

महाधिवेशनको संघारमा रहेको नेपाली काँग्रेसमा नेतृत्वलाई लिएर नेताहरूको दौडधुप तीब्र बनेको छ । केही नेताहरूले सभापतिमा आ–आफ्नो दाबी प्रस्तुत गरिसकेका छन् भने केही नेताहरू पर्ख र हेरको रणनीतिमा छन् । १३ औं महाधिवेशनमा सक्रिय बनेको तीन खेमा १४ औं महाधिवेशनमा पनि कायमै रहन्छन् या फरक समीकरणको साथ काँग्रेस अधिवेशन सम्पन्न हुन्छ भन्ने अन्यौलताका बीच पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पछिल्लो समय देखिएको निकटताले दोस्रो तहका नेताहरूमा संशय पैदा गरेको छ ।

१३ औं महाधिवेशनमा सभापतिमै उम्मेद्वारी दिएका सिटौलाले दोस्रो चरणमा देउवालाई साथ दिएका थिए । तर पछिल्लो समय नेताले सिटौला वरिष्ठ नेता रामचन्द्र पौडेलसँग निकट रहेको लख काटिएको बेलामा पौडेल नै देउवासँग निकट भएपछि काँँग्रेसको समीकरण बदलिएको चर्चा छ । आफ्नो गुटमा निर्विरोध सभापतिको उम्मेद्वार बन्ने सङ्केत नदेखिएपछि पौडेलले सभापतिमा देउवालाई नै अघि सार्न चाहेको बताइन्छ ।



पछिल्लो समय पौडेल समूहमा एकल सभापतिको उम्मेद्वारको विषयले विवाद उत्पन्न भएको थियो । पौडेलसँगै सो समूहबाट कोइराला खेमाका शशांक, शेखर र सुजाता तीनै जनाले सभापतिमा दाबी पेश गर्दै आएका थिए । त्यसैगरी प्रकाशमान सिंहदेखि अर्जुननरसिंह केसीले पनि सभापतिमा दाबी गर्दै आएका थिए । आकांक्षीहरू धेरै भएपछि र आफ्नो विपक्षमा शीर्ष नेताहरूले नै अभियान नै चलाएपछि पौडेल बाध्य भएर देउवालाई नै सभापतिको रूपमा अगाडि सार्ने मनासयमा पुगेको बोहोराटार स्रोतले बतायो ।

देउवा र पौडेलबीच गोप्य सहमति भएको हो ?
रामचन्द्र पौडेलले लामो राजनीतिक जीवनको उत्तरार्धमा पार्टीलाई नेतृत्व गर्ने अभिलाषा पालेका थिए । हालसम्म त्यो सफल भएन । त्यसपछि उनको अर्को अभिलाषा थियो प्रधानमन्त्री बन्ने । १७ पटकसम्म प्रधानमन्त्रीको उम्मेद्वार बन्दै असफल भएका उनीको त्यो चाहना पनि पूरा हुन सकेन । अव पौडेल राष्ट्रपति बनेर भए पनि राजनीतिबाट सुरक्षित अवतरण हुन चाहन्छन् । उनको यो चाहना बुझेर नै देउवाले निर्वाचनपछि राष्ट्रपति बनाउने प्रस्ताव गर्दै सभापतिमा आफूलाई सघाउन आग्रह गरेको बताइन्छ ।

पौडेल र देउवाबीच निर्वाचनपछि एकजना प्रधानमन्त्री र अर्को राष्ट्रपति बन्ने गोप्य सहमति भएको स्रोतको दाबी छ । त्यसमा देउवासभापति बन्ने र पौडेलले चाहेको व्याक्ति उपसभापति बन्नेदखि पदाधिकारीसम्ममा देउवा र पौडेलबीच सहमति जुटेको बताइन्छ । राष्ट्रपतिको लोभमा सभापतिमा आफूलाई सघाउन पौडेल तयार भएपछि नै देउवाले गठबन्धनले बनाएको राजनीतिक समन्वयव समितिको सभापति पौडेललाई बनाउन तयार भएको बताइन्छ ।

गठबन्धनले मान्ला त ?
देउवा र पौडेलबीच प्रधानमन्त्री र राष्ट्रपतिको विषयलाई लिएर भएको सहमतिमा गठबन्धनका अन्य दलहरूले पनि साथ दिएको बताइन्छ । अहिले गठबन्धनलाई निर्वाचनसम्म लैजान विशेषगरी माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको लागि अपरिहार्य छ । भर्खरै फुट बेहोरेकोले निर्वाचनमा शक्ति सञ्चय गर्न नसकिने चिन्ता उनीहरूमा छ । त्यसैले पनि गठबन्धनको साथ पाएमा शक्तिशाली पार्टी बन्न सकिने लोभ प्रचण्ड र नेपालमा रहेको पाइन्छ ।

अर्कोतर्फ नेपाली काँग्रेसको सभापतिमा देउवा दोहोरिए मात्र गठबन्धनको भविष्य रहेको बुझेका उनीहरूले निर्वाचनपछि पौडेललाई राष्ट्रपति बनाउने सहमतिको साथ देउवालाई नै काँग्रेसको सभापतिमा दोहोर्याउन चाहेको बताइन्छ । अहिले देउवालाई सभापति बनाउन सकियो भने निर्वाचनपछि शक्ति सन्तुलनका हिसाबले फरक समीकरणका साथ अगाडि बढ्न पनि समस्या नहुने बुझेर नै अहिले गठबन्धनका अन्य दलहरूले निर्वाचनपछि देउवालाई सभापति र पौडेललाई राष्ट्रपति बनाउन कुनै समस्या नहुने हिसाब बैठकमा सुनाउने गरेका छन् ।

यता काँग्रेसमा दुई मियो नै एक भएपछि दोस्रो तहका नेताहरूलाई महाधिवेशनमा आफ्नो पद सुरक्षित गर्न सकस पर्ने देखिन्छ । यद्दपि पौडेल खेमाकै प्रभावशाली मानिने नेता अर्जुननरसिंह केसी देउवा र पौडेलबीच सहमति भएको विषय पत्याउन नसकिने बताउँदै आएका छन् । सभापति देउवामा सबैलाई मिलाउनुपर्छ भन्ने भावना नभएकोले उनीबाट सहमतिको अपेक्षा गर्न नसकिने केसीको भनाइ छ ।।

 

सम्बन्धित समाचार