जबराले आफूसहित अन्य न्यायाधीशका लागि तोके इजलास

तोके १७७ वटा मुद्दाको पेसी

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ९ वटा इजालस तोकेका छन् । आज (बिहीबार)का लागि प्रधानन्यायाधीशले १७७ वटा मुद्दा पेसी राख्दै इजलास तोकेका हुन् ।

राणाले आफूसहित अन्य न्यायाधीशका लागि इजालस तोकेका हुन् । यसअघि बन्दीप्रत्यक्षीकरणका रिट सुनुवाइका लागि मात्र इजलास तोक्दै आएका राणाले आजको लागि अन्य मुद्दा पनि राखेर पेसी तोकेका छन् । नेपाल बार एशोसिएसनले आफूलाई इजलास नतोक्न प्रधानन्यायाधीश जबरालाई चेतावनी दिएको थियो ।



राणाले ९ वटा इजलास गठन गर्दै १७७ मुद्दा सुनुवाइका लागि पेसी तोकेका हुन् । आजको तोकेको पेसीमा अधिकांश बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा रहेका छन् । आजका लागि तोकिएको नौ इजलासमा तीन एकल इजलास, एक पूर्ण इजलास र पाँच संयुक्त इजलास छन् ।प्रधानन्यायाधीशले न्यायाधीशहरु दीपककुमार कार्की र प्रकाशमान सिंह राउत, मीरा खड्का र तेजबहादुर केसी, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई र सुष्मालाल माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र नहकुल सुवेदी, विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलास, बमकुमार श्रेष्ठ र कुमार रेग्मी, प्रकाशकुमार ढुंगाना र कुमार चुडाल, नहकुल सुवेदीको एकल इजलास र आफ्नै पूर्ण गरी ९ इजलास गठन गरेका छन् ।

जबराको राजीनामा माग्दै आन्दोलनरत सर्वोच्च अदालतका १९ जना न्यायाधीशले मुद्दा सुनुवाइमा सहभागी नहुने बताए पनि जबराले इजलास तोक्दै आएका छन् । प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायलयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै अन्य न्यायाधीशले सुनुवाइ गर्न इन्कार गर्दै आएकाले मुद्दाको सुनुवाइ हुन सकेको छैन ।

सम्बन्धित समाचार