नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ कार्तिक ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने भन्दै नेपाल बार एसोसिएसनले आइतबार पनि सर्वोच्चमा धर्ना कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको छ ।
सर्वोच्चको गेटमा धर्नापछि विरोध सभालाई सम्बोधन गर्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार पनि धर्ना दिने बताए । उनले आइतबारदेखि पनि सर्वोेच्चको गेटमा धर्नालाई निरन्तरता दिन प्रत्येक दिन साढे ९ बजे भेला हुन आह्वान गरेका हुन् । सर्वोच्चको गेटमा नेपाल बार एसोसिएसनका वकिलहरूले धर्ना दिँदै प्रधानन्यायाधीश सर्वोच्च प्रवेश गर्न नदिने बताएका थिए ।
तर, जबरा सर्वोच्च अदालतको १ नम्बर गेट हुँदै अदालत प्रवेश गरेका थिए । प्रधान्यायाधीशले सरकार र संवैधानिक निकायमा भागबन्डा मागेको, अदालतमा अनियमितता, विसंगति र विचौलिया रोक्ने उपायस्वरूप न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पेसी तोक्दा गोलाप्रथा लागू गर्ने सुझाव कार्यान्वयन नगरेको भन्दै नेपाल बारले उनको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ ।

