यी हुन् सबैभन्दा कम समयमा जन्मिएको शिशु

गिनिज वर्ल्ड रेकर्डमा लेखियो नाम

आमाको गर्भमा केवल २१ साता र एक दिन रहेर अमेरिकामा जन्मिएका एक शिशुलाई विश्वमै कम समयमा जन्मिने जीवित शिशुका रूपमा प्रमाणित गरिएको छ। जन्मिँदा ती शिशुको तौल एक पाउन्डभन्दा कम थियो ।

कर्टिस मीन्सको जन्म १६ महिनाअघि अलाबामामा भएको हो । त्यतिबेला उनको तौल ४२० ग्राम मात्र थियो । गिनिज वर्ल्ड रेकर्डले ती बालकले अकाल जन्ममा नयाँ कीर्तिमान राखेको पुष्टि गरेको छ । सामान्य रूपमा मानिसको गर्भावस्थाको समय ४० हप्ताको हुन्छ । तर, कर्टिस समय पुग्नुभन्दा १९ हप्ताअघि नै जन्मिएका थिए ।



यी हुन् सबैभन्दा कम समयमा जन्मिएको शिशु

उनकी आमा मिशेल बट्लरलाई सन् २०२० को जुलाई ४ मा प्रसवपीडा सुरु भएपछि अस्पताल पुर्‍याइएको थियो । भोलिपल्ट उनले जुम्ल्याहा बच्चा कर्टिस र सीअआस्यालाई जन्म दिइन् । तर, अर्को दिन सीआस्याको मृत्यु भयो । समयभन्दा त्यति अगाडि जन्मिने बच्चा बाँच्ने सम्भावना निकै कम हुने बताइन्छ । यस्तो अवस्थामा एक प्रतिशतभन्दा कम शिशु मात्रै जीवित रहन्छन् ।

कर्टिसलाई सुरुमा सघन उपचारमा राखियो । तीन महिनापश्चात् उनलाई भेन्टिलेटरबाट निकालियो र २७५ दिन अस्पतालमा बसेपछि गत एप्रिल महिनामा उनी घर जान पाए । उनलाई विज्ञहरूले सास फेर्न र खानका लागि मुख प्रयोग गर्न सिकाएका थिए । कर्टिसलाई अझै पनि थप अक्सिजन र खाना खुवाउनका लागि ट्यूबको आवश्यकता पर्छ । तर, चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य राम्रो छ ।-बीबीसी

सम्बन्धित समाचार