नोबेल पुरस्कार विजेता मलालाले गरिन् विवाह

नोबेल पुरस्कार विजेता पाकिस्तानी युवती मलाला युसुफजाइले वैवाहिक जीवन सुरु गरेकी छिन् । छात्रा शिक्षाका लागि अभियान चलाएका बेला तालिबान विद्रोहीहरूले गोली प्रहार गरेपछि चर्चामा आएकी मलालाले पाकिस्तानकै एक युवकसँग विवाह गरेकी हुन् ।

उनले आफ्नो वैवाहिक कार्यक्रम भने सानो इस्लामिक समारोहका बीचमा मङ्गलवार बेलायतको बिर्मिङ्घममा भएको जानकारी दिएकी छिन् ।
तालिबान विद्रोहीहरूको आक्रमणकै कारणले असुरक्षा महसुस गरी उनी अहिले बेलायतमा बस्दै आएकोले बेलायतमा वैवाहिक कार्यक्रम भएको हो ।



नोबेल पुरस्कार विजेता मलालाले गरिन् विवाह

सामाजिक सञ्जालहरूमा आफ्ना पतिसहितको फोटो राखेर २४ वर्षिया मलालाले सबैको तर्फबाट शुभकामना र आर्शिवाद चाहेको उल्लेख गरेकी छिन् । ‘मैले मेरो नयाँ जीवन सुरु गरेको छु, यो मेरो जीवनको ठूलो अवसर हो, असेर मलिक मेरो जीवनसाथी बन्नु भएको छ,’ उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छिन् ।

इस्लामिक परम्पराअनुसार विवाहको पहिलो चरणमा निकाह गर्ने गरिन्छ । उनले अहिले निकाह गरेकी हुन् । यसको कानुनी हैसियत भने रहँदैन । महिला अधिकारको पक्षमा लागेको र मुस्लिम छात्रालाई पढाएकोप्रति रुष्ट हुँदै सन् २०१२ मा १५ वर्षको उमेरकी मलालालाई तालिबान विद्रोहीले गोली प्रहार गरेका थिए ।

पाकिस्तानको उत्तर पश्चिमी स्वात उपत्यकामा तालिबान विद्रोहीहरूले मलाला चढेको स्कुल बसमा हमला गर्दा उनीसहित तीन जना घाइते भएका थिए । त्यसपछि उनको चर्चा विश्वव्यापी भयो र १७ वर्षकै उमेरमा सन् २०१४ मा नोबेल पुरस्कार पाइन् । उनी अहिलेसम्म नोबेल पुरस्कार पाएका व्यक्तिहरू मध्ये सबैभन्दा कान्छी हुन् । उनले राजनीति शास्त्र र अर्थशास्त्रमा अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेकी छिन् भने विश्वभरि मानवअधिकारकर्मीको पहिचान बनाएकी छिन् ।

सम्बन्धित समाचार