हिमालयन बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले संचालनमा ल्याएको नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई प्रथम चरणमा ‘नेपाल–पे क्युआर’ संचालन गरी ग्राहकहरूलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवा सुविधाहरू उपलब्ध गराउन हिमालयन बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच २०७८ साल कार्तिक २३ गते एक सम्झौता सम्पन्न भएको बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्ने हिमालयन बैंक पहिलो भएकोले नेशनल पेमेन्ट स्वीचले ल्याएको यस सुविधाले भुक्तानी प्रणालीलाई थप सहज बनाई विभिन्न बैंकिङ्ग कारोबार गर्न सकिने विश्वास बैंकले लिएको जनाएको छ । ग्राहकहरूलेल नेपाल–पे क्युआर उपलब्ध भई संचालनमा ल्याउने सबै मर्चेन्टहरूबाट सहज र सरलरूपमा खरिद गरिएका वस्तु तथा सेवाहरूको क्युआरमार्पmत डिजिटल भुक्तानी गर्न सक्नेछन् । यसका साथै बैंकले नेशनल पेमेन्ट स्वीच मार्फत एनसीएचएलले उपलब्ध गराउने अन्य सेवाहरू पनि क्रमिक रूपमा उपलब्ध गराउने पनि जनाइएको छ ।



नेशनल पेमेन्ट स्वीचमा आवद्ध भई संचालनमा आएको उक्त नेपाल–पे क्युआर एक उत्कृष्ट तथा सुरक्षित भुक्तानी प्रणाली भएकोले बैंकका ग्राहकहरू प्रत्यक्षरूपमा लाभान्वित तथा यस प्रणालीमा आवद्ध भए पश्चात ग्राहकहरूले नगदै भुक्तानी गर्नु पर्ने झण्झटबाट मुक्त हुने बैंकले जनाएको छ ।

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणा र नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले बैंक तथा क्लियरिङ्ग हाउसका अन्य कार्यकारीहरूको उपस्थितिमा उक्त सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार