नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ कात्तिक ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले दशौं महाधिवेशनबाट सर्वसम्मत केन्द्रीय नेतृत्व चयन गर्ने कोसिस गरिरहेका छन् । पार्टीमा अध्यक्षपछिको दोस्रो वरीयतामा रहेको वरिष्ठ उपाध्यक्षका लागि तीन शक्तिशाली नेताले दाबी पेश गरेपछि ओली अफ्यारोमा परेका छन् । महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र पार्टी विभाजनमा ओलीलाई साथ दिएका पूर्वमाओवादी समूहका नेता रामबहादुर थापा बादल वरिष्ठ उपाध्यक्षका आकांक्षी देखिएका छन् ।
अहिले पोखरेल, नेम्वाङ र थापा तीनै नेता ओलीनिकट छन् । एमालेले विधान महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष अध्यक्षपछिको दोस्रो वरीयता हुने र त्यसपछि चार उपाध्यक्ष रहने विधान पारित गरेको छ । एमालेले विधान महाधिवेशनबाट १५ सदस्यीय पदाधिकारी रहने गरी दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरिने विधान पारित गरेको छ ।
स्थायी समिति सदस्य रहेका नेम्वाङ संसदीय दलमा ओलीपछिको दोस्रो वरीयतामा छन् । ओलीले सरकारको नेतृत्व गर्दा र त्यसपछि प्रतिपक्षको भूमिकामा रहँदा उनको अनुपस्थितिमा संसदीय दलमा नेम्वाङले नै समग्र नेतृत्व गर्दै आएका छन् । यता दुई पटकसम्म महासचिव भैरहेका पोखरेल पनि स्वभाविक रुपमा वरिष्ठ उपाध्यक्षका दाबेदार हुन् ।
त्यसैगरी ओली अफ्यारोमा परेको बेला प्रचण्डको साथ छोडेर साथ दिएका बादललाई पनि तत्कालिन बेलामै एमालेको दोस्रो वरीयता दिने आश्वासन ओलीले दिएका थिए । यसकारण यी तीन नेताको व्यवस्थापन ओलीको लागि टाउको दुखाइको विषय बनेको छ ।

