क्रोएसिया र स्पेन विश्वकपमा छनोट

क्रोएसिया कतारमा हुने फिफा विश्वकप-२०२२ मा छनोट भएको छ । युरोपियन छनोट अन्तर्गत आइतबार राति भएको खेलमा रुसलाई १-० ले पराजित गर्दै क्रोएसिया विश्वकपमा छनोट भएको हो ।

क्रोएसियाको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा क्रोएसियालाई विश्वकपमा छनोट हुन आत्मघाती गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा खेलको ८१ औं मिनेटमा रुसका डिफेन्डर फ्योडोर कुड्रयासोभले आत्मघाती गोल गरेका थिए । जुन गोल क्रोएसियालाई जित दिलाउन पर्याप्त रह्यो र खेल क्रोएसियाले १-० ले जित्यो ।



क्रोएसिया

जितसँगै समूह ‘एच’ मा शीर्ष स्थानमा रहेको क्रोएसिया १० खेलमा २३ अंक जोड्दै विश्वकपमा छनोट भएको छ भने १० खेलमा २२ अंक जोडेको रुस दोस्रो स्थानमा रहेको छ । रुसको पनि प्ले अफबाट विश्वकपमा छनोट हुने सम्भावना रहेको छ । त्यसैगरी युरोपियन छनोट अन्तर्गत आइतबार राति जर्मनीले अर्मेनियालाई ४-१ ले हराएको छ भने लिचेस्टाइन रोमानियासँग २-० ले पराजित हुन पुगेको छ । समूह ‘जे’ मा रहेको जर्मनी यसअघि नै विश्वकपमा स्थान बनाई सकेको छ ।

त्यस्तै स्पेन पनि कतारमा आयोजना हुने फिफा विश्वकपमा छनोट भएको छ । आइतबर राति भएको युरोपियन छनोट अन्तर्गत समूह ‘बी’ को खेलमा स्विडेन स्पेनसँग १-० ले पराजित हुन पुग्यो । स्पेनकोको घरेलु मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

स्पेन

तर, दोस्रो हाफको ८६ औं मिनेटमा ओल्मोको पासमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १-० को जित दिलाउदै टोलीलाई विश्वकपमा छनोट गराए । जितसँगै समूहको शीर्ष स्थानमा रहेको स्पेनले ८ खेलमा १९ अंक जोडेको छ भने १५ अंक जोडेको स्विडेनको पनि विश्वकपमा छनोट हुने सम्भावना कायमै रहेको छ । यसरी यसै समूहको अर्को खेलमा ग्रीस र कोसोभोले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

सम्बन्धित समाचार