नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ कार्तिक ।

ओखलढुङ्गामा आज बिहान भएको बोलेरो दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको भने उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । दुर्घटनामा परी १२ जना घाइते भएका छन् ।
प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो ओखलढुङ्गा सुनकोशी गाउँपालिका–९ को सिकारीडाँडामा आज विहान दुर्घटना भएको थियो । बोलेरोमा यहाँस्थित चम्पादेवी ककनी मन्दिर दर्शन तथा एकादशी मेला भर्न जाने भक्तजन रहेको बताइएको छ । जिल्ला प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार दुर्घटनामा परी सिद्धिचरण नगरपालिका–१० बस्ने ३५ वर्षीया मिठुमाया मगर, १६ वर्षीया तुलसा मगर, १९ वर्षीय खगेन्द्र मगर र ३६ बर्षीया शान्तामाया मगरलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।
प्रहरी प्रमुख काफ्ले बोलेरोमा १८ जना सवार रहेको र बोलेरो सडकबाट करिब ६०० मिटर तल झरेको बताए। दुर्घटनाका गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको सुनकोशी–९ का वडाध्यक्ष झनककुमार कार्कीले बताए । दुर्घटनालगत्तै प्रहरीचौकी कोषहाट र स्थानीयले घाइतेको उद्धार गरेका थिए । अन्य घाइतेको ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
जिल्लाको सुनकोशी –९ र चम्पादेवी गाउँपालिका–९ को सिमानामा पर्ने ककनी मन्दिरमा बर्सेनि भक्तजनको भीड लाग्ने गर्दछ । एकादशीका अवसरमा एक साताभन्दा बढी मेला लाग्ने ककनी दर्शन गर्न ओखलढुङ्गा, सिन्धुली, रामेछाप, उदयपुर र सोलुखुम्बलगायतका स्थानबाट भक्तजन आउने गरेका छन् ।
