आन्तरिक द्वन्दमा राज्यपक्षबाट दिइएको पीडाको एउटा शब्दचित्र

तत्कालीन गलैंचा तथा ऊन विकास समितिको कार्यालय ,धुम्बाराही परिसरभित्र मिति २०६० असोज २७ का दिन अज्ञात बन्दुकधारीबाट कार्यालयका कर्मचारी अनिल चौधरीको हत्या भएको विषयमा सत्य, तथ्य बुझ्न मलाई सुरक्षा निकायले ४ दिनसम्म अनुसन्धानमा राखी आवश्यक परेमा पुनः लैजाने सर्तमा छाडिएकोमा पुनः मिति २०६० मंसिर १ गतेका दिन काठमाडौंको कपन गाविस– ३ मा बसोबास गर्दै आएकोे मलाई ‘सुरक्षा निकायबाट आएका हौँ भन्ने साधारण पोशाकमा आएका २ जवान व्यक्तिहरूले कार्यलय परिसरबाटै लिएर गए ।

यसरी राज्य पक्षद्वारा अपहरण शैलीमा मलाई अनिश्चित स्थानमा लगियो । धेरै दिन बितिसक्दा पनि मेरो बारेमा परिवारले केही अत्तोपत्तो नपाएपछि मेरी श्रीमतीले पटक पटक सञ्चार माध्यम, नागरिक समाज, मानव अधिकारकर्मी आदि स्थानमा खोज खबर गरिदिन र थुनिएको भए रिहाइको माग गर्न धेरैकोे ढोका ढकढकयाउन पुगिछन् । तर पनि उनी निराश भएर फर्किन बाध्य बनिन् । मसँग आश्रित मेरो परिवारको आयको अर्को कुनै श्रोत थिएन । मेरा ५५ वर्षीय पिता, ५० वर्षीया माता, अविवाहित भाइ १, अविवाहित बहिनी २, श्रीमती, नाबालक छोरा १ र छोरी २ गरी जम्मा गरी ९ सदस्यको भरण पोषणको जिम्मेवारी पूरा गर्दै आएको मलाई राज्य पक्षले अमानवीय शैलीमा अपहरण गरेपछि मेरा मुटु रोगी पिताको छोराको वेदना सहन नसकेर निधन भयो । हिन्दु संस्कार अनुसार काजकृया गर्नुपर्ने जेठो छोरा मलाई राज्य पक्षले बेपत्ता बनाएको हुँदा कान्छो भाइ, आमा र श्रीमतीलाई सो कर्म पूरा गर्ने जिम्मेवारी आइलाग्यो । यसरी बाबुको क्रियाकर्म गर्नबाट पनि मलाई बञ्चित गराइयो ।



म तत्कालीन गलैँचा तथा ऊन विकास समिति र हालको व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रमा एक निम्नस्तरको कर्मचारी भएका कारण राजनैतिक पार्टीसँग आवद्ध रहने कुरै थिएन । म र मेरी श्रीमती लक्ष्मी न्यौपाने मिलेर आफ्नो परिवारलाई भरण पोषणको साथ साथै आर्थिक उन्नतिको लागि सानो होटल खोली परिवारलाई दुःखजिलो गर्दै आएका थियौं । मेरो अपहरणपछि मेरी श्रीमतीलाई धेरै बाधा, अड्चन, मानसिक तनाव सहनुपर्यो । बालबच्चालगायत परिवारको भरण पोषणको सम्पूर्ण जिम्मेवारी सम्हाल्नु पर्दा धेरै मानसिक तनाव सहनु पर्यो । मानसिक तनावले गर्दा नै उनमा कहिले मुर्छा पर्ने , निद्रामा बर्बराउने, आमाको यो अवस्था देखेर छोराछोरी डराउने, कराउने र रुने गर्न थाले । करिब ९ महिनासम्म परिवारले यस्तो अकल्पनीय परिस्थितिको सामना गर्नुपर्यो ।

अनेक हण्डर र ठक्कर खाएर पनि मेरी श्रीमतीले विभिन्न व्यक्ती, मानव अधिकारवादी संघ–संस्था नागरिक समाज तथा सञ्चारमाध्यमहरूसँग पनि हार गुहार गरिन् । तर अवला नारीलाई सहयोग गर्न कोही तयार भएनन्, केवल आश्वासन मात्र दिइरहे । सरकारी स्तरबाट भन्दा बरू छरछिमेकबाट धेरै सहयोग प्राप्त भयो । खासगरी कपन गाविसका तत्कालीन अध्यक्षबाट ठूलो सहयोग पाइएकोले त्यस गुणलाई भने भूल्न सकिन्न । उहाँ धन्यवादका पात्र हुनुहुन्छ ।

पीडादायक नौ महिना व्यतित गरिसकेपछि एक रात सादा पोशाकमा रहेका हातहतियारले सुसज्जित व्यक्तिहरूले सरकारी गाडीमा राखेर आँखामा पट्टी बाँधी रातको ११ बजे मेरो परिवारको समक्ष मलाई बुझाए । कष्टपूर्ण नौ महिना बन्दी जीवन बिताउँदा खप्नु परेका पीडा त छँदै थियो, परिवारसँग भेट भएपछि मात्र ४ महिना अघि बुबाले मृत्युवरण गरेको समाचार प्राप्त भयो । यस हृदयविदारक जानकारीले म झन बढी पीडित बनें । म विहोस भएर त्यही ढल्न पुगेंछु । केही समयपछि मेरो होस फर्कियो । भोलिपल्टदेखि हिन्दु संस्कारअनुसार बाबुको काजक्रिया गरें ।

बन्दी जीवन बिताउँदा मैले धेरै प्रकारका यातनाहरू सहनु पर्यो । पाइपले कुट्ने, अध्यारो कोठामा निर्वस्त्र सुताउने, शौचालयमा सुताउने, इनारमा डुबाउने, समय समयमा करेन्ट लगाउने जस्ता कार्यले मेरो शरीर क्षीण बन्यो र आँखा पनि कम देख्न थालें । अहिले कुनै समय मेरो मानसिक सन्तुलन बिग्रिएजस्तो हुने, जिउ दुख्ने र कटकट खाने, शरीर सुन्निने साथै एउटा हात र एउटा खुट्टाले राम्रो काम नगर्नेजस्ता लक्षणहरू छन् । उपचार जारी छ, तैपनि सुधार उन्मुख छैन ।

अहिले पहिलाको सानो होटल पनि चलाउन नसकी छोड्नु परेको र निम्नस्तरको एउटा जागिरको भरमा बाँच्नु परेको छ । भविष्य अन्यौलपूर्ण छ । राज्य पक्षको आशङ्काका भरमा एउटा सानो र सुन्दर संसार तहस नहस बनेको छ । परिवारको बिल्लीबाठ भएको छ । म न्यायको खोजीमा कहाँ जाउँ वा कसलाई भनौं ? गरिवको सुनिदिने कोही छैन । जसलाई सुनाए पनि आश्वासनबाहेक केही पाइँदैन । नियत खराब नभए पनि राज्यपक्षले आशङ्काका भरमा यसरी कसैको जीवन नर्कतुल्य बनाएपछि पनि जिम्मेवारी लिने र क्षतिपूर्ति दिने कुनै निकाय भएन । आश्वासनले मात्र कसैकोे बिग्रेको घरबार र पारिवारिक स्थितिमा सुधार हुनेवाला छैन ।

अनि मैले सोचें– सम्बन्धित निकाय जिम्मेदार नबन्दा लोकतान्त्रिक व्यवस्थामा पनि पहुँच नहुने नागरिकले यसरी नै अन्यायको भूमरीमा बाँच्नु पर्नेरहेछ ।

(द्वन्द्वपीडित माधवप्रसाद न्यौपानेसँगको कुराकानीमा आधारित)

सम्बन्धित समाचार