इंग्ल्यान्ड र स्विट्जरल्यान्ड विश्वकपमा छनोट

इंग्ल्यान्ड कतारमा हुने फिफा विश्वकप-२०२२ मा छनोट भएको छ । युरोपियन छनोट अन्तर्गत सोमबार राति भएको खेलमा सिमित सान मारिनोलाई १०-० को फराकिलो अन्तरले पराजित गर्दै इंग्ल्यान्ड विश्वकपमा छनोट भएको हो ।

एकतर्फी बनेको खेलमा ह्यारी केनले ह्याट्रिकसहित चार गोल गरे भने ह्यारी मग्वाएर, इमिल स्मिथ, ट्य्रोन मिङ्स, टामी इब्राहिम र बुकायो साकाले समान १-१ गोल गरे । त्यस्तै एक गोल भने इंग्ल्यान्डले उपहार पाएको थियो । सान मारिनोका फिलिप्पो फाब्रीले आत्मघाती गोल गरेका थिए । खेलको छैटौं मिनेटमा ह्यारी मग्वाएरले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको १५ औं मिनेटमा फिलिप्पो फाब्रीले आत्मघाती गोल गरेपछि इंग्ल्यान्डको अग्रता दोब्बर भयो ।



इंग्ल्यान्ड

यस्तै ह्याट्रिकसहित चार गोल गर्ने क्रममा ह्यारी केनले खेलको २७, ३१, ३९ र ४२ औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई पहिलो हाफमा ६-० को अग्रता दिलाए । तर, इंग्ल्यान्ड यतिमा रोकिएन र खेलको ५८ औं मिनेटमा इमिल स्मिथले र ६९ औं मिनेटमा ट्य्रोन मिङ्सले गोल गर्दा इंग्ल्यान्ड ८-० ले अघि रह्यो । त्यसैगरी खेलको ७८ औं मिनेटमा टामी इब्राहिम र ७९ औं मिनेटमा बुकायो साकाले गोल गर्दै इंग्ल्यान्डलाई १०-० को फराकिलो जित दिलाए ।

यसअघि खेलको ६८ औं मिनेटमा रोस्सीले रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि मारिनो १० खेलाडीमा समेटिएको थियो । जितसँगै समूह ‘आई’ को इंग्ल्यान्ड १० खेलमा २६ अंक जोड्दै विश्वकपमा छनोट भएको छ भने सान मारिनो अंक विहिन रहेको छ । त्यस्तै युरोपियन छनोट अन्तर्गत समूह ‘सी’ को खेलमा सोमबार राति बुल्गेरियालाई ४-० ले पराजित गर्दै स्विट्जरल्यान्ड विश्वकपमा छनोट भएको छ ।

स्विट्जरल्यान्ड

स्विट्जरल्यान्डको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा स्विट्जरल्यान्डले ४ गोल गर्यो । खेलको ४८ औं मिनेटमा नोह ओकाफोरले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ५७ औं मिनेटमा रुबेन भर्गासले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । यस्तै खेलको ७२ औं मिनेटमा सेड्रिक इट्टेनले गोल गर्दै स्विट्जरल्यान्डलाई ३-० को अग्रता दिलाए । यसैगरी खेलको इन्जुरी समयमा रिमो फ्रुलेरले गोल गर्दै स्विट्जरल्यान्डलाई ४-० को सहज जित दिलाए ।

जितसँगै स्विट्जरल्यान्ड ८ खेलमा १८ अंक जोड्दै समूहको शीर्ष स्थानमा रहदै विश्वकपमा छनोट भएको छ भने ८ अंक जोडेको बुल्गेरिया चौथों स्थानमा रहेको छ ।

स्विट्जरल्यान्ड

सम्बन्धित समाचार