नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० कार्तिक ।

प्रदेश नम्बर १ को प्रदेश सभा बैठक स्थगित भएको छ । आज (मंगलबार) बस्ने भनिएको बैठक प्रमखु प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरू अनुपस्थित हुने भएपछि स्थगित भएको हो ।
विप्लव समूहको बन्दका कारण आफ्ना सांसदहरु आउन नसक्ने भन्दै एमालेले बैठक स्थगित गर्न माग गरेको थियो । आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी रहेको थियो । अब भोली (बुधबार) बिहान ११ः ३० बजेका लागि सभामुखले प्रदेश सभा बैठक बोलाएका छन् । त्यस्तै मुख्यमन्त्री राईले बुधबार नै विश्वासको मत लिने भएका छन् ।
यस्तै मुख्यमन्त्री राईले सभामुखको भूमिकामाथि प्रश्न उठाएका थिए । उनले सभामुखले बैठक स्थगित गरेर एमालेको कार्यकर्ताको जस्तो भूमिका निर्वाह गरेको आरोप लगाए । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ ।
मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त गर्न ४६ सांसद आवश्यक छ । ९२ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखसहित ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको १-१ जना प्रदेश सांसद छन् ।
कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पाँचदलीय गठबन्धनको समर्थनमा राई मुख्यमन्त्री नियुक्त भएका हुन् । पाँचदलीय गठबन्धनको ५० जना सांसद छन् ।

