नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० कार्तिक ।

प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादव बर्खास्त भएका छन् । आज (मंगलबार) प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले रायलाई बर्खास्त गरेका हुन् ।
मुख्यमन्त्री राउतको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले मन्त्री रायलाई मंगलबार पदमुक्त गरेका हुन् । माधव नेपाल नेतृत्वको पार्टी नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सामेल गर्न रायलाई पदमुक्त गरिएको हो । राय जनता समाजवादी पार्टीका नेता हुन् । तत्कालका लागि उद्योग, पर्यटन तथा वन मन्त्रालयको कार्यभार मुख्यमन्त्री राउत आफैंले सम्हालेका छन् ।
यसअघि मन्त्री रायलाई राजीनामा दिन आग्रह गरिएको थियो । तर, रायले आफूलाई पार्टीले भन्नुपर्ने अडान राख्दै मुख्यमन्त्रीले भनेकै आधारमा राजीनामा नदिने बताएका थिए । राजीनामा नदिएपछि रायलाई पदमुक्त गरिएको हो ।

