टी-२० सिरिजः कतारमाथि नेपालको शानदार जित

टी-२० सिरिजको पहिलो म्याचमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोली कतारविरुद्ध १ सय १९ रनले विजयी भएको छ। नेपालले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको कतारले ११.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र २७ रनमा अलआउट भयो।

कतारका लागि खादिजा इम्तियाज र एन्जेलिन मारेले ८–८ तथा केरी पाउनसेटले ७ र रिज्फा बानोले ३ रन बनाइन्। कुनै पनि खेलाडीले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। उसका ६ खेलाडी शून्य रनमा आउट भए। नेपालका लागि कप्तान रुविना क्षत्रीले उत्कृष्ट बलिङ गरिन्। उनले १.५ ओभरमा १ रन मात्र खर्चिएर ३ विकेट लिइन्।



यस्तै, कविता कुँवर र सरस्वती कुमारीले २–२ विकेट लिँदा करुण भण्डारीको नाममा एक विकेट रह्यो। यसअघि दोहास्थित वेस्टएन्ड पार्क स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो। नेपाली टोलीले टी–२० अन्तरराष्ट्रियमा बनाएको यो अहिलेसम्मकै उच्च योगफल हो। यसअघि नेपालले सन् २०१९ मा मलेसियाविरुद्ध १ सय २६ रन बनाएको थियो। नेपालका लागि इन्दु वर्माले अर्धशतकीय पारी खेलिन्।

उनले ४७ बलमा ५ चौकाको मद्दतमा ५५ रन बनाएर रिटायर्ड हर्ट भइन्। टी–२० अन्तरराष्ट्रियमा इन्दुको यो पहिलो अर्धशतक हो। यसका साथै उनी नेपालका लागि टी–२० आईमा अर्धशतक बनाउने पहिलो महिला खेलाडी पनि बनिन्।

सम्बन्धित समाचार