नवकान्तिपुर संवाददाता
काठमाडौं, १ मंसिर ।

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको स्वागतमा महोत्तरीको एक नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । महोत्तरीको रामगोपालपुर नगरपालिकाले प्रचण्डको स्वागतमा बुधबार एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नगरपालिका अन्तर्गतका आधारभूत स्वास्थ्य केन्द्रहरु वडा नम्बर २,३,४,६,७, ८ र ९ को उद्घाटनका लागि प्रचण्ड आज महोत्तरी जाँदैछन् । नगरपालिकाले सार्वजनिक बिदा दिँदै उद्घाटन समारोहमा सहभागी भएर शोभा बढाइदिन पनि अनुरोध गरेको छ ।
कार्यक्रम दिउँसो १२ बजे रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको नगरप्रमुख अशोक कुमार मण्डल र प्रमुख प्रशासकीय अधिकृतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

