नवकान्तिपुर संवाददाता
काठमाडौं, १ मंसिर ।
छिमेकी मुलुक चीनले महाशक्ति राष्ट्र अमेरिकालाई पछि पार्दै विश्वकै धनी मुलुक बनेको छ । पछिल्लो २० वर्षमा अमेरिकाको तुलनामा चीनको सम्पत्ति तीव्र गतिले बढिरहेको छ । कन्सल्टेन्सी फर्म म्याकिन्से एण्ड कम्पनीको ताजा रिपोर्टअनुसार पछिल्लो दुई दशकमा विश्वभरको कुल सम्पत्ति तीन गुणाले वृद्धि भएको छ ।
विश्वको ६० प्रतिशत आय रहेका १० मुलुकको ब्यालेन्स शीटको जाँचपछि उक्त रिपोर्ट तयार पारिएको हो । २० वर्षको अवधिमा वृद्धि भएको विश्वको कुल सम्पत्तिमध्ये चीनले एक-तिहाई अर्थात् ३३ प्रतिशत हिस्सा ओगटेको छ । यसरी हेर्दा सो अवधिमा चीनको कुल सम्पत्तिमा १६ गुणा वृद्धि भएको छ ।
रिपोर्टअनुसार सन् २००० मा विश्वको कुल सम्पत्ति करिब १५६ ट्रिलियन डलर थियो । तर २०२० मा विश्वको कुल सम्पत्ति बढेर ५१४ ट्रिलियन डलर पुगेको छ । उक्त अवधिमा वृद्धि भएको कुल सम्पत्तिमध्ये एक-तिहाई हिस्सा चीनको रहेको छ ।
सन् २००० मा विश्व व्यापार संगठनको सदस्य बन्दा चीनको कुल सम्पत्ति ७ ट्रिलियन अर्थात् ७० खर्ब डलर थियो । सन् २०२० मा त्यहाँको कुल सम्पत्ति बढेर १२० ट्रिलियन डलर पुगेको छ । यसको अर्थ २० वर्षमा चीनको कुल सम्पत्तिमा ११३ ट्रिलियन थपिएको छ ।
पछिल्लो २० वर्षमा चीनको तुलनामा अमेरिकाको सम्पत्तिमा कमी आएको र दुई गुणाले बढेको छ । २०२० मा अमेरिकाको कुल सम्पत्ति ९० ट्रिलियन डलर रहेको अनुमान गरिएको छ । सम्पत्तिको मूल्यमा ज्यादा वृद्धि नहुँदा अमेरिकाले पहिलो स्थान गुमाएको र चीनले उछिनेर विश्वकै धनी मुलुक बनेको रिपोर्टमा उल्लेख छ ।