महाधिवेशनको मुखैमा तितरबितर भयो काँग्रेसको पौडेल पक्ष, सभापति हत्याउनेमा देउवा ढुक्क

रामचन्द्रलाई राष्ट्रपतिको आश्वासन, शशांक उपसभापति, देउवा सभापति

नेपाली काँग्रेसको महाधिवेशन तोकिएकै मितिमा हुने निश्चित भएपछि नेतृत्वको दावेदारहरूले सक्रियता बढाएका छन् । संस्थापन पक्षबाट विमलेन्द्र निधिले यसअघि नै सभापतिमा उम्मेद्वारीको घोषणा गरिसकेपछि दवावमा देखिएका पार्टी सभापति शेरबहादुर देउवाले अन्ततः रामचन्द्र पौडेल पक्षलाई नै फुटाएर सभापतिमा दोहोरिने आफ्नो चाहना पूरा गर्ने दिशामा सुनिश्चित रहेको बताइन्छ । सभापतिको साझा उम्मेद्वारमा सहमति नजुट्दा अन्ततः महाधिवेशनको मुखैमा पौडेल पक्ष भने तितरबितर भएको छ ।

पौडेल समूहबाट रामचन्द्र पौडेल, प्रकाशमान सिंह र कोइराला परिवारबाट शेखर, शशांक र सुजताले सभापतिमा दाबी पेश गर्दै आएका थिए । साथै देउवालाई हराउन एकल उम्मेद्वार तय गर्नुपर्नेमा पनि सो समूहमा समझदारी बनेको थियो तर एकल उम्मेद्वारको पात्रमा सहमति जुट्न नसक्दा पौडेल समूहको अस्तित्व धरापमा पर्ने देखिएको छ ।



पौडेललाई कोइराला परिवारले असक्षमको विल्ला भिराउँदै आएको छ । हिजो एक कार्यक्रममा शशांक कोइरालाले प्रकाशमानलाई काठमाडौं बाहिर कसैले पनि नचिन्ने बताएपछि सो समूहको आन्तरिक द्वन्द्व सतहमा आएको छ । शशांकले पौडेल र सिंहले पार्टी हाक्न नसक्ने भन्दै आफू देउवालाई टक्कर दिन सक्षम उम्मेद्वार रहेको दाबी पेश गरेका थिए । तर शशांकले सिंहलाई रूष्ट बनाउनुमा विवाद सिर्जना गरेर अन्ततः कोइराला परिवारकै दाजु शेखर कोइरालालाई साझा उम्मेद्वारको रूपमा अघि सार्ने कुटिल मनासाय लुकेको बुझ्न सकिन्छ ।

कोइराला परिवार तीन जनाले नै दाबी गर्ने र अन्तिम समयमा आफूहरूमध्येबाट एकलाई साझा उम्मेद्वार तय गर्ने रणनीतिमा रहेका छन् । यसबारे मंगलबार उनीहरूबीच छलफल पनि भएको बताइन्छ । उनीहरूबीच शेखरलाई साझा उम्मेल्वारको रूपमा अघि सार्ने तर त्यसको वातावरण नबनेसम्म तीनै जनाले सभापतिमा उम्मेद्वारी दाबी पेश गर्ने आन्तरिक सहमति भएको बताइन्छ । सोही योजना मुतावित शशांकले हिजो एक कार्यक्रममा नेता सिंहलाई सभापतिको उम्मेद्वार स्वीकार्न नसकिने अभिव्यक्ति दिएको बताइन्छ ।

पौडेल पक्षमा देउवा खेलेको आशङ्का
महाधिवेशनको मिति नजिकिएसँगै पार्टी सभापति शेरबहादुर देउवाले आन्तरिक सक्रियता बडाएका छन् । उनले पौडेल पक्षमा फाटो ल्याएर आफ्नो दुहुनो सोझ्याउने प्रयास गरिरहेको बताइन्छ । पौडेल पक्षमा साझा उम्मेद्वारमा सहमति नजुटेको र रामचन्द्र पौडेललाई कोइराला र सिंह खेमाले सभापतिको उमेद्वारका रूपमा पुनः दोहोर्याउन नचाहेको बुझेपछि देउवाले पौडेललाई सहमार्यको प्रस्ताव गरेको बताइन्छ । यसमा पौडेलले आफ्नो खेमामा आफू सर्वसम्मत सभापतिको उम्मेद्वार बन्न नसकेको खण्डमा देउवासँग सहकार्य गर्न तयार रहेको सङ्केत दिएको बुझिएको छ । देउवाले पौडेललाई निर्वाचनपछि राष्ट्रपति बनाउने शर्तमा सहकार्यको प्रस्ताव गरेको चर्चा छ ।

यता कोइराला खेमामा पनि सभापतिको उम्मेद्वारलाई लिएर आन्तरिक द्वन्द्व रहेको बुझेका सभापति देउवाले हिजो बिहान मात्र शशांकलाई बालुवाटार नै बोलाएर सहकार्यको प्रस्ताव राखेको बताइन्छ । पौडेल पक्ष एक नरहेको बेलामा सभापति जित्ने सम्भावना नरहेकोले आफूसँग सहकार्य गरेर उपसभापति बन्न देउवाले प्रस्ताव गरेको बुझिएको छ । एक एक गरी पौडेल पक्षमा खेलेका देउवाले सभापतिमा पहिलो चरणमा नै बहुमत ल्याउने योजना अनुसार रणनीति बनाएको बताइन्छ ।
पौडेल, शशांक र कृष्ण सिटौलासँग सहकार्य गरेर महाधिवेशनमा पदाधिकारी बाँडफाँड गर्नेबारे बालुवाटारमा खाका बनिरहेको स्रोतको दाबी छ । काँग्रेसमा पछिल्लो समय समीकरणमा आएको फेरबदलले सभापतिमा उम्मेद्वारी घोषणा गरिसकेका निधि र सिंहलाई अस्तित्व जोगाउन नै हम्मे हम्मे पर्ने देखिएको छ ।।

सम्बन्धित समाचार