प्रकाशमानलाई भेट्न चाक्सीबारी पुगेका रामचन्द्र निरास बनेर फर्किए

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विहीबार बिहान अचानक चाक्सीबारीस्थित पूर्व महामन्त्री प्रकाशमान सिंह निवासमा पुगे । पूर्व निर्धारित कार्यक्रम वा जानकारी बिनै वरिष्ठ नेता पौडेल चाक्सीबारी पुगेपछि सिंहका सहयोगीहरुले नेताद्वयबीच छलफलको चाँजोपाँजो मिलाए ।

कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा दावी गरिरहेका पौडेल र सिंहबीचको छलफलले ठोस परिणाम दिएन । यद्यपि पछिल्लो समय दुवै नेताबीच बढेको दूरी र संवादहीनता तोड्न भने बैठक सफल रह्यो । वरिष्ठ नेता पौडेलले आन्तरिक एकता अपरिहार्य रहेकोबारे सिंहलाई लचिलो बन्न आग्रह गरेका थिए । संस्थापन इतर पक्षबाट साझा उम्मेदवार बनाउन खुला छलफल गर्न आवश्यक रहेको भन्दै पौडेलले संवादबाट निस्कने निष्कर्षलाई सबैले मान्नुपर्ने बताएका थिए ।



सिंहले भने सभापतिमा उम्मेदवारी दिने निष्कर्षमा आफू पुगिसकेको भन्दै अब पछि हट्ने अवस्था नरहेको बताएका थिए । पौडेलले देउवाविरुद्धको लडाई एकताबिना सम्भव नहुने भन्दै एकले अर्कोलाई नमान्ने अवस्थामा सबैलाई नेतृत्व दिन आफू तयार रहेको बताए ।

सम्बन्धित समाचार