चाक्सीबारी पुगेर प्रकाशमानसँग शशांकले मागे माफी

नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ। ठमेलको चाक्सीबारीस्थित सिंह निवासमा शनिबार दिउँसो उनीहरुबीच भेटवार्ता भएको हो। दुवै नेताहरुबीच भेटवार्ता भएको चाक्सीबारी स्रोतले पुष्टि गरेको छ।

‘हो, उहाँहरुका बीचमा भेटवार्ता भयो। छलफलमा अस्ती सर्लाहीमा दिएको अभिव्यक्तिका लागि डाक्टरसावले सरी भन्नुभयो,’ चाक्सीबारी स्रोतले भन्यो। गत सोमबार सर्लाहीको हरिवनमा अगुवा कार्यकर्तासँगको अन्तरक्रियामा महामन्त्री कोइरालाले नेता सिंहलाई ‘काठमाडौं बाहिर कसैले नचिन्ने’ टिप्पणी गरेका थिए। उक्त टिप्पणी पछि सिंह कोइरालासँग असन्तुष्ट थिए।



जवाफमा नेता सिंहले पनि आफूले विराटनगरमा महामन्त्री कोइरालाप्रति गरेको टिप्पणीका बारेमा असहज महसुस गरेको स्रोतको भनाइ छ। उनले पनि गत बुधबार विराटनगर विमानस्थलमा कोइरालालाई लक्षित गरेर अभिव्यक्ति दिएका थिए।

छलफलका क्रममा नेपाली कांग्रेसको सभापति पदमा उम्मेदवारी घोषणा गरिसकेका सिंहले महामन्त्री कोइरालालाई अब आफू पछाडि फर्किन नसक्ने समेत बताए। दुवै नेताहरुका बीचमा नेपाली कांग्रेसको सभापति पदका लागि साझा उम्मेदवार तय गर्न संवादलाई निरन्तरता दिने सहमति भएको बताइएको छ।

सम्बन्धित समाचार