नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ मंसिर ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा नुवाकोटको क्षेत्र नम्बर १ को दुबै प्रदेश सभा क्षेत्रमा महत पक्षले कब्जा जमाएको छ । शुक्रबार भएको निर्वाचनमा सोही दिनको रातीदेखि आरम्भ भएको मतगणनापछि आएको परिणामले क्षेत्र नं १ को प्रदेश ‘क’ र ‘ख’ दुबैमा महत पक्षका सभापति सहित पूरै प्यानल विजय भएको छ । शनिबार सम्पन्न भएको मतगणनामा क्षेत्र न १ ‘क’ मा महत निकटका युवा व्यवसायी सुशील खड्का र ख मा रामजी पौडेल सभापति पदमा भारी मतान्तरले विजयी भएका छन् ।
प्रदेश ‘ख’ मा महत पक्षको पूरै प्यानलले जित हातपार्दा ‘क’ मा भने केसी समूहका एकजनाले कार्यसमितिमा जित हासिल गरेका छन् । यसले नुवाकोटमा केसी समूहको विरासत गुम्दै गएको जिल्लाका नेताहरू बताउँछन् । पुराना नेता मानिने अर्जुननरसिंह केसीको गाउँमा समेत महत प्यानलले बाजी मारेपछि केसी समूह जिल्लामा समेत घेरा बाहिर हुने नेताहरू नै बताउछन् ।
केन्द्रमा पौडेल समूहका नेताको रूपमा चिनिएका वा गनिएका महत र केसी जिल्लामा भने अलग अलग समूह बनाएर हिँडिरहेका छन् । अहिलेसम्म नुवाकोट काँग्रेसमा केसी परिवारको एकछत्र राज हुँदै आएकोमा यस निर्वाचनमा त्यो क्रम भङ्ग भएको छ ।
१४ औं महाधिवेशनले एकातर्फ केसी गुट र अर्कोतर्फ महत दाजुभाइ र बहादुरसिंह गुटको समीकरण बन्ने घटनाक्रमले देखाएको छ । नुवाकोटमा काँग्रेससमा विगतदेखि नै केसी गुट र महत गुटबीच प्रतिस्पर्धा हुँदै आएकोमा यस महाधिवेशनदेखि बहादुरसिंह लामा पनि महत खेमासँग जोडिएपछि महत गुट झन् शसक्त बनेको छ ।
