नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ मंसिर ।

नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गरी गर्दै आएको आन्दोलनको स्वरुप आइतबारदेखि परिवर्तन गर्दैछ। यसअघि राजीनामा मागको मुद्दालाई प्रमुख बनाएको बारले आइतबार भने आफ्नो आन्दोलमा भएको बल प्रयोगको विरोधलाई प्राथमिकतामा राखेको छ।
बारको शुक्रबार बसेको बैठकको निर्णयअनुसार कानुन व्यवसायीहरुले आइतबार देशभरका अदालतहरुमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस गर्नेछैनन्।
बारले भनेको छ, ‘अदालतभित्र दंगा प्रहरी प्रवेश गराउने, कानुन व्यवसायीको शान्तिपूर्ण धर्ना, विरोध कार्यक्रमलाई दबाउन हतियारसहितको दंगा प्रहरीको ठूलो संख्यामा तैनाथ गरी कानुन व्यवसायीहरुलाई दमन, हातपात, कुटपिट गरी घाइते बनाएको विरोधमा देशभरका सबै अदालतहरुमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस पैरवी नगर्ने नगराउन आग्रह छ।’

