महाधिवेशनको मुखमा ओलीविरूद्ध घेराबन्दी, मध्यमार्गी १० भाइ र पूर्वमाओवादी नेताहरू विद्रोहको तयारीमा

एमालेको महाधिवेशनमार्फत सर्वसहमतिमा अध्यक्ष चुनिने र सहमतिमा पदाधिकारी लगायतमा नेतृत्व चुन्ने अध्यक्ष ओलीको चाहना पूरा हुने देखिँदैन । १५ पदाधिकारीहरूमा ३० दाबेदार हुनु र अस्तित्वमा रहेका तीनै समूहका नेताहरूले आ–आफ्नो दाबी नछोड्दा एमालेको महाधिवेशन अध्यक्षदेखि सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यसम्मको लागि निर्वाचन हुने देखिएको छ । अध्यक्ष ओलीले सहमतिको नाममा एकल निर्णय लाद्न खोजे विद्रोह गर्ने तयारीमा मध्यमार्गी १० भाइ र पूर्वमाओवादी नेताहरू जुटेका छन् ।

माधव नेपालसँग विद्रोह गरेर एमालेमै रहेका १० भाइ पदाधिकारीहरूमा योगेश भट्टराई र सुरेन्द्र पाण्डेबाहेका नेताहरू ओलीसँग रूष्ठ रहँदै आएका छन् । भट्टराई भने ओलीकै गुनगाना गाएर सचिवमै दोहोरिने योजनामा छन् भने पाण्डे पनि ओलीलाई भजाएरै सके महासचिव र नसके पनि ओलीकै छायामा रहेर पार्टीको कुनै शक्तिशाली विभागको जिम्मेवारी लिने मनासायमा देखिन्छन् । यी दुई नेता ओलीको विरूद्ध उभिएर एमालेमा रहन नसकिने निष्कर्षमा पुगेको एमाले निकट स्रोत बताउँछ ।



यता १० भाइमध्येका दुई उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भूसाल भने अध्यक्षमै उठेर ओलीलाई सर्वसम्मत हुन नदिने योजनामा छन् । ओलीले सहमतिमै महाधिवेशन सम्पन्न गर्ने हो भने आफूलाई वरिष्ठ उपाध्यक्ष बनाउनुपर्ने रावलको माग छ । यता भूसाल पनि महासचिव पाए मात्र अध्यक्षमा नलड्ने र सबै नेताहरूको सम्मानजनक जिम्मेवारीको सुनिश्चितता हुनुपर्ने बताउँदै आएका छन् । रावल र भूसालले भनेजस्तो उनीहरूलाई वरिष्ठ उपाध्यक्ष र महासचिव दिने कुनै सम्भावना छैन । त्यसैले पनि यी दुई नेताहरू ओलीलाई अध्यक्षमै टक्कर दिने तयारीमा छन् । उनीहरूको लक्ष्य अध्यक्ष जित्ने नभए पनि ओलीलाई सर्वसम्मत हुन नदिने र एमालेमा विचारको लडाइँ जारी छ भन्ने सन्देश दिनु नै हुनेछ ।

मध्यमार्गी १० भाइमध्येकै उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य पनि सम्मानजनक जिम्मेवारी नदिए विद्रोह गर्नुपर्ने लाइनमा छन् । सचिव गोकर्ण विष्टले पनि उपाध्यक्षमा दाबी गरेका छन् । सहमतिको नाममा आफ्नो समूहलाई जिम्मेवारी मुक्त गरेमा विद्रोहको विकल्प नरहेको मध्यमार्गी १० भाइमध्ये ८ नेताहरूको निष्कर्ष छ ।

यता पूर्वमाओवादी नेताहरूको पीडा पनि मध्यमार्गी १० भाइको भन्दा फरक छैन । अध्यक्षपछिको जिम्मेवारी दिने आश्वासन पाएपछि ओली र एमालेको कित्तामा उभिएका रामबहादुर थापा बादलले वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै आएका छन् । यो पदमा ओलीपक्षका ईश्वर पोखरेल र सुवास नेम्वाङले पनि दाबी गरेका छन् । ओली भने बादललाई उपाध्यक्षमा थन्क्याएर पाँचौ वरियतामा पुर्याउने योजनामा छन् । साथै लेखराज भट्ट, मणि थापा र प्रभू शाहले सचिवमा दाबी गरेका छन् । उनीहरूमध्येबाट एक जनालाईबाहेक पदाधिकारीमा ल्याउन नसकिने बाध्यतामा ओली छन् ।

ओलीले आफ्नो समूहबाट एक नेतालाई मात्र पदाधिकारीमा ल्याएर अन्यलाई स्थायी कमिटीमा थन्क्याउने तयारी गरेको बुझेपछि पूर्वमाओवादी नेताहरूले पनि महाधिवेशनको मुखमा विद्रोहको चेतावनी दिन थालेका छन् । एमालेमा अस्तित्वमा रहेका तीन समूह नै ओलीसँग रूष्ट हुन थालेपछि एमालेमा सहमतिमा नेतृत्व चुनिने सम्भावना ज्यादै न्यून देखिएको छ । त्यसैले अहिलेसम्मको गतिविधि हेर्दा ओलीले एकल रूपमा निर्णय लाद्न खोजेमा संस्थापनइतरका समूहले विद्रोह नगर्लान् भन्न सकिँदैन ।।

सम्बन्धित समाचार