नवकान्तिपुर संवाददाता
काठमाडौं, ६ मंसिर ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आइतबार भएको खेलमा ब्रिगेड ब्वाइज र मनाङ मर्स्याङ्दी क्लब विजयी भएका छन् ।
काठमाडौँ त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबले विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–२ ले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको ११औँ मिनेटमा दिनेश राईले गोल गर्दै ब्रिगेड ब्वाइजलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले करिब ३५ यार्डबाट प्रहार गरेको बलले जाली चुमेको थियो । त्यस्तै खेलको १७ औँ मिनेटमा एपीएफका लागि आशिष लामाले गोल गर्दै खेल बराबरीमा ल्याए ।
पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ६५औँ मिनेटमा दिनेशले व्यक्तिगत दोस्रो गोल गर्दै ब्रिगेडलाई २–१ को अग्रता दिलाए । तर, खेलको ७७ औँ मिनेटमाबिकी तामाङले गोल गर्दै एपीएफलाई २–२ बराबरीमा पुर्याए । त्यसपछि खेलको अत्तिरिक्त समयमा सुरज गुरुङले गोल गर्दै ब्रिगेडलाई ३–२ को जित दिलाए । जितसँगै ब्रिगेडले ३ अङ्क जोडेको छ ।
त्यसैगरी आइतबार भएको दोस्रो खेलमा जावलाखेल युथ क्लब मनाङ मर्स्याङ्दी क्लबसँग १-० ले स्तब्ध हुन पुग्यो । निकै प्रतिस्पर्धात्मक खेलमा खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, खेलको ५६औँ मिनेटमा दिनेश राजवंशीले निर्णायक गोल गर्दै मनाङलाई १-० को जित दिलाए । यद्यपि दुवै टोलीले केही गोल गर्ने सुन्दर अवसर खेर फालेका थिए । जितसँगै मनाङले ३ अङ्क जोडेको छ ।
प्रतियोगिता अन्तर्गत आज दुई खेल हुने छन् । पहिलो खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् भने दोस्रो खेलमा मछिन्द्र फुटबल क्लब र न्युरोड टिम (एनआरटी) आमने सामने हुँदै छन् ।