नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ मंसिर ।
आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले आज (मंगलबार) भुटानसँग खेल्दैछ । दुबईको आईसीसी क्रिकेट एकेडेमीमा हुने खेल नेपाली समय अनुसार दिउसो ३:१५ बजे सुरु हुनेछ ।
नेपाल पहिलो जितको खोजीमा हुनेछ । हिजो भएको खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । त्यस्तै भुटान भने दोस्रो जित हात पार्ने योजना सहित मैदान उत्रदैछ । पहिलो खेलमा भुटानले कुवेतलाई ४० रनले हराएको थियो । छनोटमा ६ टिम सहभागी छन् ।
नेपालले तेस्रो खेल कुवेतसँग बिहीबार, चौथो खेल मलेसियासँग शुक्रबार र पाँचौ तथा अन्तिम खेल आगामी आइतबार युएईसँग खेल्नेछ । छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।यसअघि कतारसँगको तीन खेलको सिरिज नेपालले क्लिन स्वीप गरेको थियो । नेपालले टी-२० महिला विश्वकप एसिया छनोटअघि कतारसँग तीन खेलको सिरिज खेलेको थियो ।