नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ मंसिर ।
आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत दोस्रो खेलमा नेपालले शानदार जित दर्ता गरेको छ । मंगलबार भएको खेलमा भुटानलाई नेपालले ८ विकेटले पराजित गरेको हो ।
दुबईको आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै ६१ रन बनाएको थियो । भुटानका लागि नगावाङ छोदेनले १३, सोनाम पाल्डोनले ११ तथा कप्तान एसेय छोदेनले ९ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झनलायक रहेन । नेपालका लागि सिता राना मगरले सर्वाधिक ३ विकेट लिईन् भने करुणा भण्डारीको भागमा १ विकेट रह्यो ।
६२ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले ८ ओभर ३ बलमा मात्र २ विकेट गुमाउदै पूरा गर्यो । नेपालको लागे इन्दु बर्माले अविजित रहँदै १८ रन जोडिन् भने सिता राना मगरले १७ तथा कप्तान रुबिना क्षेत्रीले १० रन बनाइन् । त्यस्तै कविता जोशी ८ रनमा अविजित रहिन् । भुटानको लागि टासी छेकीले एक विकेट लिईन् ।
प्रतियोगितामा नेपालको यो पहिलो जित हो पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो । जितसँगै नेपालले २ खेलमा २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । छनोटमा ६ टिम सहभागी छन् । नेपालले तेस्रो खेल कुवेतसँग बिहीबार, चौथो खेल मलेसियासँग शुक्रबार र पाँचौ तथा अन्तिम खेल आगामी आइतबार युएईसँग खेल्नेछ ।
छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । यसअघि कतारसँगको तीन खेलको सिरिज नेपालले क्लिन स्वीप गरेको थियो । नेपालले टी-२० महिला विश्वकप एसिया छनोटअघि कतारसँग तीन खेलको सिरिज खेलेको थियो ।