नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ मंसिर ।

काठमाडौँ सहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । सिन्धुली, सुनकोशी गाउँपालिका-२ मजुवाबगरस्थित सुनकोशी नदीमा सोही गाउँपालिका-१ बस्ने ४० वर्षीय कुमार मोक्तान तामाङ मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै झापा, बुद्धशान्ती गाउँपालिका-४ पानीघट्टा बस्ने ६२ वर्षीय लोक बहादुर भन्ने जित बहादुर कुमाल वन ज्वती सामुदायिक बनको ब्लक नम्बर ४ मा मंगलबार मृत अबस्थामा फेला परेका छन् । यस्तै काठमाडौं, काठमाडौं महानगरपालिका-१३ गाईबाच्छापाटीस्थित अच्युत पाण्डेको कोही बसोबास नगर्ने खाली घरको शौचालयमा हाल नाम, थर, वतन नखुलेका करिब ३२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यता म्याग्दी, रघुगंगा गाउँपालिका-१ वेगस्थित वेग खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यसैगरी सोलुखुम्बु, दुधकुण्ड नगरपालिका-४ लुरा बस्ने ४४ वर्षीया लाक्पा डोमा तामाङ आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।
त्यस्तै सिरहा, लहान नगरपालिका-११ पडरियाँ चोकमा सप्तरी शम्भुनाथ नगरपालिका-३६ वर्षीय राजकुमार चौधरी मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता सुनसरी, धरान उपमहानगरपालिका-८ बराह कम्प्लेक्सस्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै जाजरकोट, भेरी नगरपालिका-३ स्याँला बस्ने १९ वर्षीय प्रकाश जंग शाह सोही नगरपालिका-१ कालेगाउँ चौराहढीक भन्ने स्थानमा सोमबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । रुकुम जिल्लामा मेला हेर्न गई फिर्ता हुने क्रममा भेरी नगरपालिका-१ कोलचौर बस्ने १९ वर्षीय सन्तोष परियार समेतका व्यक्तिहरू र प्रकाश समेत बिच मंसिर ३ गते साँझ भेरी नदीको पुल नजिक झगडा भई कुटपिट हुँदा घाइते भएका सन्तोष जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचार पश्चात डिश्चार्ज भएका थिए ।
कुटपिट गर्नेमध्येका प्रकाश र सोही ठाउँ बस्ने २२ वर्षीय प्रविण जंग शाह समेत ४ जना तत्काल फरार रहेकोमा ३ जना शनिबार परिवारको सम्पर्कमा आएको तर प्रकाश सम्पर्कमा नआएपछि आफन्तको सहयोगमा प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । झगडामा संलग्न प्रविण जंग समेत ११ जनालाई नियन्त्रणमा लिई घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
