नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ मंसिर ।

६ विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष ज्ञापन पत्र बुझाएका छन् । आज (बुधबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर विद्यार्थी सङ्गठनले देउवा समक्ष ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, विप्लव निकट अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही, मोहन वैद्य निकटअखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेललगायतले हस्ताक्षर गरेका छन् ।
प्रधानमन्त्रीले मूल्यवृद्धिको विषयमा सम्बन्धित निकायमा परामर्श गरेर सकारात्मक निर्णय लिने जवाफ दिएको अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले जानकारी दिइन् ।‘यो संवेदनशील विषयमा नेपाल सरकार जवाफदेही भएर जनतालाई सहजरुपमा जीवनयापन गर्ने वातावरण तयार गर्नको लागि पेट्रोलियम पदार्थमा लगाएको कर घटाई मूल्यवृद्धि फिर्ता गर्न जोडदार माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘मूल्य वद्धि फिर्ता नगरिए संयुक्त विद्यार्थी सङ्गठन देशभर आन्दोलन सिर्जना गर्न बाध्य हुनेछ ।’

