नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ मंसिर ।
नेपाली क्रिकेटका ‘ग्लोबल आइकन’ सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) टी ट्वान्टी क्रिकेट खेल्न अष्ट्रेलिया प्रस्थान गरेका छन् । आज (बुधबार) सामाजिक संजालमार्फत सन्दीपले आफू अष्ट्रेलिया प्रस्थान गरेको जानकारी गराएका हुन् ।
उनलाई होबर्ट हुरिकेन्सले अनुबन्धन गरेको छ । सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन् । यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए । उनले दुवै सिजनमा गरी बीबीएलमा २० खेल खेल्दै २६ विकेट लिएका छन् । गत संस्करणमा सन्दीपको उत्कृष्ट प्रदर्शनकै कारण मेलबर्न फाइनलमा पुगेको थियो ।
नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० अर्थात् मङ्सिर २५ गतेदेखि शुरु हुनेछ । यस सिजनमा हरेक टिमले तीन विदेशी खेलाडीलाई प्लेइङ सेटमा राख्न पाउने छन् । लिगमा आठ टिमको सहभागिता रहेको छ ।