नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ मंसिर ।

नेकपा एमालेको १० औं महाधिवेशन भोलि उद्घाटन हुँदैछ । नेताहरू आ–आफ्नो उम्मेद्वारीको अन्तिम तयारीमा जुटेका छन् । महाधिवेशनमा नेतृत्वको चयन निर्वाचनमार्फत् नै हुने भएपछि नेताहरू आ–आफ्नो समूह र समूह बाहिरका नेताहरूलाई आफ्नो पक्षमा मतदान गरिदिन आग्रह पनि गरिरहेका छन् । अध्यक्ष केपी शर्मा ओली आजै चितवन पुगिसकेका छन् भने अन्य नेता कार्यकर्ताहरू पनि चितवन केन्द्रित भएका छन् ।
एमालेमा पछिल्लो समय शक्ति सन्तुलनमा आएको फेरबदलले केही नेताहरूले भने खुलेर आफ्नो उम्मेद्वारी घोषणा गर्न सकिरहेका छैनन् । विषेशगरी मध्यमार्गी समूह र पूर्व माओवादी समूहको प्रभाव पार्टीमा न्यून रहेकोले उनीहरू आन्तरिक रूपमा मात्र तयारी गरिरहेका छन् । निर्वाचन नै हुने भएपछि आफूहरूले जित्ने सम्भावना नरहेने भन्दै उनीहरूले अध्यक्ष ओलीलाई सम्मानजनक जिम्मेवारी पाउने वातावरण बनाउन आग्रह गर्न थालेका छन् ।
अध्यक्ष ओलीले पनि उम्मेद्वारी घोषणा नगरेका पूर्व माओवादी र मध्यमार्गी नेताहरूलाई निर्वाचनमा प्रतिष्पर्धा गर्न नपर्ने वतावरण बनाउने वचन दिएको बताइन्छ । ओलीले यसो भन्दै गर्दा संस्थापन पक्षबाहेकका पक्षका नेताहरूले साविककै हैसियतमा व्यवस्थापन हुने सम्भावना देखिन्छ ।
सात सचिवमा आकांक्षीको ओइरो
विधान अधिवेशनले एमालेमा सात सचिव रहने व्यवस्था गरेको छ । तर सचिवमा आकांक्षा देखाउने नेताहरूको संख्या एक दर्जन नागेको छ । माधव नेपाल समूहमा रहेर पनि पार्टी विभाजनपछि एमालेमै रहेका हालका सचिवद्वय योगेश भट्टराई, भीम आचार्य र गोकर्ण विष्ट पुनः सचिवमै दोहोरिने तयारीमा छन् । सहमतिमा सचिव छान्ने अवस्था आएमा उनीहरू प्रति केपी ओली पनि सकारात्मक रहेको बताइन्छ । त्यसैगरी संस्थापन पक्षका सचिव प्रदीप ज्ञवालीलाई पनि सचिवमै दोहोरिने मनस्थितिमा छन् ।
युवा नेता महेश बस्नेतले सचिव उम्मेद्वारी नै घोषणा गरेका छन् । उनको पार्टीमा पनि राम्रो पकट भएकोले निर्वाचन भएको खण्डमा पनि सचिवमा बस्नेत विजयी हुने सम्भावना प्रवल देखिन्छ । सहमतिमै सचिव छान्नुपर्ने अवस्थामा पनि बस्नेतलाई सो पदमा ल्याउन ओली सकारात्मक छन् । त्यसैगरी सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व हुनेगरी उक्त प्रदेशका अध्यक्ष कर्ण थापाले सचिवमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
संस्थापन पक्षका भानुभक्त ढकाल, खगराज अधिकारी, गोकुल बाँस्कोटा र हाल कार्यालय सचिव रहेर पार्टीलाई योगदान गरिरहेका शेरबहादुर तामाङले पनि सचिवमा दाबी गर्दै आएका छन् । महिला नेतृ पदमा अर्याल र शिवमाया तुम्बाहाम्फेले पनि सचिवमै आँखा लगाएका छन् । सचिवलाई समावेशी बनाउनुपर्ने बाध्यताको कारण उनीहरू दुबै जनाको सम्भावना बलियो छ ।
यता माओवादी केन्द्रबाट आएका नेताहरूलाई लेखराज भट्ट र टोपबहादुर रायमाझीले पनि सचिवमा दाबी गर्दै आएका छन् । सो समूहको प्रतिनिधित्व सुनिश्चित गर्न दुईमध्ये एकलाई सचिव बनाउन ओली सकारात्मक छन् ।
सचिवमात्र नभएमा एमालेको वरिष्ठ उपाध्यक्षदेखि उपाध्यक्ष, महासचिव र उपमहासचिवमा पनि आकांक्षीहरूको भीड देखिन्छ । सवै पदाधिकारीमा निर्वाचन गराएर ढुक्क हुन चाहेका अध्यक्ष ओली त्यसपछि अस्तित्वमा रहेका तीन समूहबीचको शक्ति सन्तुलन नमिल्दा पार्टी पुन विभाजन होला भन्ने चिन्ताले पूर्व माओवादी र मध्यमार्गी नेताहरूको न्यूनतम सहभागिता सुनिश्चित गर्ने गृहकार्यमा व्यस्त छन् ।।

