नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ मंसिर ।
आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले दोस्रो जित दर्ता गरेको छ । आज (बिहीबार) भएको खेलमा नेपालले कुवेतलाई ९ विकेटले पराजित गरेको हो ।
दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले १५ दशमलब ४ ओभरमा २७ रनमा समेटियो । कुवेतका लागि प्रियादा मुरालीले १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । नेपालको लागि संगिता राईले तीन विकेट लिईन् भने कप्तान रुविना क्षेत्री र करुणा भण्डारीको भागमा २-२ विकेट रह्यो ।
२८ रनको लक्ष्य लिएर मैदान उत्रेको नेपालले ३ दशमलब ३ ओभरमा १ विकेट गुमाउदै पूरा गर्यो । नेपालको लागि इन्दु बर्मा र रुविन क्षेत्री क्रमश: १३ र १२ रनमा अविजित रहे । कुवेतको लागि मारिया जास्वीले १ विकेट लिईन् । मंगलबार भएको दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको थियो भने सोमबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ६ विकेटले पराजित भएको थियो ।
छनोटमा ६ टिम सहभागी छन् । नेपालले चौथो खेल मलेसियासँग शुक्रबार र पाँचौ तथा अन्तिम खेल आगामी आइतबार युएईसँग खेल्नेछ ।छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । यसअघि कतारसँगको तीन खेलको सिरिज नेपालले क्लिन स्वीप गरेको थियो । नेपालले टी-२० महिला विश्वकप एसिया छनोटअघि कतारसँग तीन खेलको सिरिज खेलेको थियो ।