नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ मंसिर ।

सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रथाबाट मुद्दाको पेशी तोकिने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुको आज (बिहीबार) बसेको पूर्ण बैठक (फुलकोर्ट ) ले मंसिर १५ देखि गोला प्रथाबाट मुद्दाको पेशी तोक्ने निर्णय गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।
यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेको थियो । संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ । यसअघि सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले इजलास गठन र मुद्दाको पेशी तोक्ने गरेका थिए । आजसम्म प्रधानन्यायाधीशले तोकेका इजलास नबस्ने निर्णय गरेका न्यायाधीशलाई पनि इजलास फर्किने बाटो खुल्छ ।
सत्तासँग सौदाबाजी गरेको भन्दै सर्वोच्चका सबै न्यायाधीशले प्रधानन्यायाधीशसँग राजीनामा माग गरेका छन्। राजीनामा मागेपछि उनले तोकेका इजलास र उनीसँगको इजलास बहिष्कार गर्ने निर्णय गरेका थिए । एक महिना अघिदेखि उनीहरूले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै इजलास बहिष्कार गर्दै आएका छन् ।

